Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ‘म नभएको दिनमा मेरो नाम इंगित गरेर अनेकथरि प्रश्नहरू उठेका छन्। पुरुषले भनेको भन्दा अलिकति बढी एक्सरसाइज गरेर पब्लिकमा आयो भने पुरुषलाई असैह्य हुने। यो परिस्थिति यहाँ छ। यसको लागि जसले जति क्रिटिसाइज गरे पनि म डराउँदिन, केही बिराएको छैन।’ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा खाने गिरोहमा आफ्नो पनि नाम जोडिएपछि नेपाली कांग्रेसकी सांसद आरजु राणाले संसदमा कड्किँदै अझ अर्को प्रस्ताव गरिन् ‘हामी जति सांसद छौं। सबैको सम्पत्ति विवरण प्रकाशित होस्। के स्रोत होरु साँच्चिकै गर्ने हो भने सबैको खोजौं।’ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आरजुलाई जवाफ फर्काइन् ‘भ्रष्टाचारमा लिङ्ग कहाँ जोडिएको हुन्छ‘रु’ स्वभाविक हो, भ्रष्टाचार, भ्रष्टाचार नै हो। भ्रष्टाचारी भ्रष्टाचारी नै हो। तर आरजु पाँचपटक प्रधानमन्त्री बनिसकेका अनि अहिले संसदमा सबैभन्दा धेरै सांसद भएको पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी पनि हुन्।
यी उनै आरजु हुन्, जसको एउटा विषाक्त तेजले नेपाली राजनीतिमा कांग्रेसी दीयो धिपधिपाइरहेको छ। आफू गृहमन्त्री हुँदा एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने राणा परिवारकी श्रीमतीका रूपमा देउवाले आरजुलाई घर भित्र्याएका थिए। त्यसपछि उनी नेपाली कांग्रेसका देउवा बन्न त खोजे तर आरजुले आफ्नोमात्रै बनाउन चाहिन्। परिणाम देउवा बदनामीका हरेक बाछिटामा आरजुका सपाट चित्र कोरिएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण, आरजु गाँसिएको अर्को एउटा बदनाम किताब हो। जहाँ उनले सँगै अर्की संगिनी मञ्जु खाणलाई पनि गाँसेकी छिन्। कांग्रेसभित्र आरजुको अर्को एउटा धिपधिपे रूप हुन खोजिरहेकी मञ्जु पूर्व गृहमन्त्री बालकृष्ण खाणकी दोस्री श्रीमती हुन्। कुनै बेला पार्टीभित्र देउवा राज स्थापित गर्न एउटा बलियो खाँबोका रूपमा आफूलाई धसेका खाण कांग्रेस सहभागी सरकारकै पालामा प्रहरी हिरासतमा छन्। त्यही शरणार्थी ठगीको खाडलमा खाण आफैं परेका छन्। जुन खाडल आरजु र मञ्जुले नै खनेका थिए।
देउवालाई पार्टी सभापति बनाउनका लागि चौधौं महाधिवेशनमा पनि खाण उसैगरी खाँबो बनिदिए। जसरी अघिल्लापटक पनि बनेका थिए। देउवाकै लागि भनेर उनले आफूले रोजेको ‘महामन्त्री’ पद पनि छोडिदिए बरू केन्द्रीय सदस्यमै रहन माने। त्यसको सट्टा श्रीमती मञ्जुलाई समानुपातिक सूचीमा राख्नभ्याए। मञ्जु पनि पार्टीको महाधिवेशनबाट खसआर्यतर्फ धेरै मत ल्याएर जितेकी केन्द्रीय सदस्य हुन्। भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेको प्रहरी अन्तिम चरणमा आइपुग्दा खाण, आरजु र मञ्जुबीचको सम्बन्ध भने पहिलाको जस्तै सुमधुर थिएन। नत्र उनीहरूबीच राजनीतिकमात्रै होइन पारिवारिक सम्बन्ध पनि उत्तिकै झाँगिएको थियो। कमजोर सम्बन्धले काँपिरहेको यो मियोबारे यही शरणार्थी प्रकरणमा सार्वजनिक भएको एउटा अडियोले पनि प्रमाणित गरेको छ। केही दिनअघि सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको एउटा अडियोमा गिरोहका एकजना सदस्य र नक्कली शरणार्थी बनेर अमेरिका जान खोज्ने एकजना ‘पीडित’बीचको हो। जहाँ आर्थिक लेनदेनको बारेमा भएका केही संवादहरू छन्। उनीहरूबीच कुन नेतालाई कति दिएको र अब पनि काम नभए पत्रकार सम्मेलन गरेर सबै कुराहरू सार्वजनिक गर्नेसम्मका संवाद भएको छ। जहाँ गिरोहले नेताहरूले आफूहरूलाई ‘दुहुनो गाई’बनाएको विरक्त पनि पोखेका छन्।
‘केशव दुलाल, म अनि सानु भण्डारी हामी सबैले साथीहरू राखेर कुरा गरेका थियौं। अहिले मौन अवधि छ नि त कोही बिजी छैन नि। दुलाल दाइ, शेखर कोइराला, सुजाता कोइराला‘ हामी त दुनो गाई। आरजुलाई साढे २ करोड बुझाएको हो। बालकृष्णलाई ६ करोड। बालकृष्ण खाणलाई भनेर हनुमानस्थानमा मञ्जुलाई बुझाएको हो। सबै रेकर्ड मसँग छ नि‘’ त्यो अडियोमा गिरोहका एकजना सदस्यले भनेका छन्। लेनदेनको यही चक्रले पनि आरजु अनि मञ्जुबीचको सम्बन्धमा दरार ल्याएको कतिपयको बुझाइ छ। ‘सायद लेनदेन हैसियतअनुसार भएन होला’ एक केन्द्रीय सदस्य भन्छन् ‘धेरै दिनुपर्नेलाई थोरै दिए होलान्। भाग पुगेन होला‘।’ प्रहरीले अहिले यो अडियोबारे छानबिन गरिरहेको छ। अडियोमा भनिएअनुसार उनीहरूले चुनावकै बेला पनि नेताहरूलाई पैसा बुझाएका छन्। प्रहरीले आरजु र मञ्जुलाई शंकाको घेरामा राखेको एउटा कारण यो अडियो पनि हो। गत मंसिरको चुनावपछि आरजु र खाणबीचको सम्बन्ध पनि पहिलाको जस्तो छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा खाणले रुपन्देहीबाट चुनाव हारेका थिए। त्यो हारका पछाडि आरजुकै हात रहेको कुरा खाणले आफ्ना नजिकका नेता कार्यकर्ताहरूलाई भनेका थिए। मंसिरको चुनावपछि नयाँ सरकार बनाउने बेलामा पनि देउवाले खाणका कुरा सुनेनन्। बरू देउवालाई कुनै सुझाव दिन जानेहरूलाई आरजुले बाहिरै रोकिन् देउवासम्म पुग्नै दिइनन्।
खाणलाई पनि उनले देउवासम्म पुग्न दिइनन्। गृहमन्त्री पदमै रहँदा पनि खाणलाई आरजुले देउवासँग भेट्नै दिन्नथिन्। खाण त्यो बेला प्रचण्डलाई पहिला प्रधानमन्त्री बन्न दिएर भए पनि गठबन्धन जोगाउनुपर्छ भन्ने पक्षमा थिए। कांग्रेसका सबैजसोले यही भनेका थिए। तर आरजुले देउवालाई त्यो कुरामा सहमत हुनै दिइनन्। खासमा देउवा आफ्नै भन्दा पनि आरजुकै अडान थियो( पहिलो नेतृत्व कांग्रेसकै हुनुपर्छ। त्यो पनि देउवा नै प्रधानमन्त्री हुनुपर्छ।’ अन्तिममा प्रचण्ड बालकोट गए र एमालेलाई केही मन्त्रालय दिएर आफू प्रधानमन्त्री भए। यही सरकारलाई कांग्रेसले पनि विश्वासको मत दियो। राष्ट्रपतिको चुनावका बेला प्रचण्डले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेपछि प्रचण्डलाई ‘धोकेबाज’ भन्दै केपी ओलीले आफ्ना मन्त्रीहरूमात्रै होइन, प्रचण्ड सरकारसँग समर्थन पनि फिर्ता लिए। आखिरमा उनै प्रचण्डलाई प्रधानमन्त्रीकै रूपमा स्विकार गरेर नेपाली कांग्रेस पनि सकारमा सहभागी हुनुपर्यो। ‘हामीले पहिला नै भनेका थियौं। तर त्यो कुरा न भाउजु आफैंले सुन्नुभयो। न देउवालाई सुनाउन दिनुभयो’ एकजना केन्द्रीय सदस्य भन्छन् ‘पार्टीभित्र यस्तै भाउजुहरूका कारण दाइहरू वास्तविकताभन्दा धेरै टाढा हुनुहुन्छ। परिणाम अहिले हाम्रै अघि छ‘।’ मौलाएको सम्बन्धबीच हुने यस्ता लेनदेनका कुराहरू आरजु र मञ्जुहरूले बाहिरै टुङ्ग्याउँथे। कतिपय राजनीतिक ‘हिसाबकिताब’ पनि उनीहरू आफैले सम्हाल्थे। नेपाली कांग्रेसभित्र स्वेच्छाचारी बनेर झाङ्गिरहेको देउवा शासनभन्दा बाहिरी घेराबाटै चल्थ्यो आरजुको ‘म्याडम राज।’ अनि मञ्जुहरूको ‘भाउजु ग्याङ।’ मञ्जुसँग त्यतिधेरै राजनीतिक अनुभव छैन। सुरुसुरुमा उनले आरजुसँगै ‘सेटलमेन्ट’का सुत्रहरू सिकिन्। र, विस्तारै आरजुलाई नै ‘फ्लप’ हानिनन्।
एकातिर आरजुको नाम जोडिएको छ। देउवा आफै तनावमा छन्। कांग्रेसभित्रकै एक तप्का भने अहिले देउवालाई भन्दा सरकारलाई, प्रहरी र गृहमन्त्रीलाई साथ दिइरहेको छ। कांग्रेस सुधार्न भनेर देशभरि अभियान चलाउन कम्मर कसेका गुरुराज घिमिरेहरूको एक हुल कांग्रेसी युवाहरूले बुधबार नै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर बधाई दिएका छन् र खुट्टा नकमाउन भनेका छन्। त्यही बेला उनीहरूकै नेता अनि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले घरको ढोका फोडेर चौकी लग्दै थियो। त्यही दिनको संसद बैठकमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले पनि गृहमन्त्री अनि प्रधामन्त्री प्रचण्डलाई बधाई दिएका थिए। थापाले यो प्रकरणमा जुनसुकै राजनीतिक दल वा जुनसुकै ओहदाका मान्छे भए पनि कारबाही गर्न सरकारलाई भनेका थिए।
केही दिनदेखि सांसद मञ्जु खाण सार्वजनिक भएकी छैनन्। जबदेखि उनको नाम जोडिएको अडियो सार्वजनिक भयो त्यसपछि उनी संसदको बैठकमा पनि गएकी छैनन्। प्रहरी पूर्व गृहमन्त्री खाणलाई समाउन जाँदा पनि उनी घरमा थिइनन्। बरू प्रहरीले जाउँ भन्दा ‘एकैछिन है‘’ भन्दै ढोका थुनेर केहीबेर ढिला गरेका खाणले श्रीमती मञ्जुसँग भिडियो कुराकानी गरिरहेका थिए। बुधबार नै आरजुले आफ्नो नाम जोडिएको अडियोबारे छानबिन गर्न भन्दै साइबर अपराध अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएकी छिन्। ‘नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड, कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन्रु’ आरजुले उजुरीमा भनेकी छन् ‘उक्त अडियोबारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु।’
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरी टोलीका एकजना अधिकारीका अनुसार यस्ता धेरै अडियोहरू प्रहरीसँग छन्। त्यसलाई प्रमाणित गर्ने अरू प्रमाणहरू पनि प्रहरीले खोजिरहेको छ। यसरी नाम जोडिएका धेरै मानिसहरूका बारेमा प्रमाण जुटाउने र अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार करिब ८० भन्दा धेरैजनाविरूद्ध यो ठगी प्रकरणमा मुद्दा परेको छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल