Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले देशमा अस्थिरता सिर्जना गर्ने कसरत भइरहेको विश्लेषण गरेको छ । कुनै व्यक्ति विशेषको नाम नकिटे पनि नेकपाले यस्तो कार्यमा सामन्ती निरङ्कुशतावादी, राजावादी र प्रतिक्रियावादी दलाल तत्वहरूको सक्रियता रहेको औँल्याएको छ । नेकपा अध्यक्ष प्रचण्डले आइतवारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा पेस गरेको आफ्नो पहिलो राजनीतिक प्रतिवेदनको बुँदा नम्बर २ मा राखिएको ‘राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा’ उल्लेखित शीर्षकमा भनिएको छ– ‘लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरङ्कुशतावादी र प्रतिक्रियावादी दलाल तत्वहरू आज पनि आन्योल र अस्थिरता सिर्जना गर्न कसरत गरी नै रहेका छन् । देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट पार्टीमाथि अधिनायकवादीको झूटो आरोप लगाई जनतामा भ्रम छर्ने जारी नै राखेका छन् ।’
राजावादी र परिवर्तनविरोधी शक्तिहरूले अझै पनि प्रतिक्रान्तिको तानाबाना बुन्न नछाडेको भन्दै प्रतिवेदनमा भनिएको छ– ‘निरङ्कुश राजतन्त्रका पक्षपोषकहरू, परिवर्तनविरोधी, यथास्थितिवादी शक्ति तथा विभिन्न रूप र रङ्गका साम्प्रदायिक एवं अतिवादी तत्वहरूलाई कम्युनिस्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको कुरा बिल्कुल पचेको छैन । अतः यस्ता तत्वहरू आफ्नो वर्ग चरित्रअनुसार अँध्यारो कोठामा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न छाडेका छैनन् ।’
प्रतिवेदनमा उनीहरूको प्रतिगामी क्रियाकलापलाई निस्तेज पार्न सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा हुनुपर्नेमा पनि जोड दिइएको छ । सामन्ती निरङ्शकुलताविरुद्ध लामो राजनीतिक सङ्घर्ष र बलिदानपश्चात् इतिहासमा पहिलो पटक नेपाली जनता साँचो अर्थमा सार्वभौम बन्न पुगेको भन्दै नेकपाको प्रतिवेदनमा भनिएएको छ– ‘राजनीतिक अस्थिरता र अराजकताको दुष्चक्रबाट बाहिर निक्लेर राजनीतिक स्थायित्वसहित समृद्धिको नयाँ यात्रातिर नेपाली समाज अघि बढदैछ । ’
यस्तो अवस्थामा प्रतिक्रियावादी शक्तिको चलखेल घातक हुने निष्कर्षसहित नेकपाले यसलाई परास्त गर्न परिवर्तनकारी शक्तिहरूले आफ्नो सजगता झन् बढाएर लैजानुपर्नेमा जोड दिएको छ । नयाँ राजनीतिक प्रणालीको अभ्यासको प्रारम्भमा केही जटिलता र चुनौतीहरू हुने भन्दै नेकपाले भनेको छ– ‘यस ऐतिहासिक सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण देशभक्त एवं लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भई जनअपेक्षाअनुसार सुशासन, विकास र जनसेवामा समर्पित भई प्रतिक्रियावादी शक्तिहरूका षड्यन्त्रहरूलाई परास्त गर्नु आजको आवश्यकता हो ।’
यसै गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा संस्थागत हुन नसकेको स्वीकार गरेका छन् । आइतवारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले जारी गरेको राजनीतिक प्रतिवेदनमा नेकपा संस्थागत ढङ्गले चल्न नसकेको तथा अन्योलग्रस्त अवस्थामा रहनुका साथै गुटबन्दी मौलाएको निष्कर्ष निकालिएको छ । प्रचण्डले बैठकमा जारी गरेको प्रतिवेदनको ‘पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा’ उपशीर्षकमा पार्टी एकताको ऐतिहासिक महत्व र देशको राजनीतिक निकासमा एकताले असाधारण भूमिका खेले पनि पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइका कारण पार्टीमा अन्योल र गुटबन्दी मौलाएको उल्लेख छ । ‘पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइ, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी सङ्गठन अन्योलग्रस्त अवस्थामा रहेको छ । पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन्’– प्रचण्डले भनेका छन् । त्यस्तै, उनले पार्टीभित्र घात, अन्तर्घात र अराजकाताका प्रवृत्तिहरू बढिरहेको उल्लेख गरेका छन् ।
‘पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा दिन प्रतिदिन बढ्दै गएको छ’– प्रचण्डको ठहर छ । त्यस्तै, उनले आलोचना, आत्मआलोचना, राम्रो काम गर्नेहरूलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजीव र गतिशीलता कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना नभएको बताएका छन् । प्रचण्डले पार्टीलाई सही ट्रयाकमा हिँडाउन र सुधार गर्न केही सुझावहरू पनि प्रस्तुत गरेका छन् । उनले भनेका छन्– ‘विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नुको विकल्प छैन ।’
पार्टी सुधारका लागि प्रचण्डले पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनाबद्ध स्कुलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् । ‘माक्र्सवाद लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लोस्तरसम्मको ज्ञानका लागि आवश्यक परीक्षा प्रणालीसमेत अपनाउन जरुरी छ’– प्रचण्डको राजनीतिक प्रतिवेदनको ५ नम्बर पेजमा भनिएको छ । त्यस्तै, पार्टीको राजनीतिक प्रतिवेदन र विधानबारे पनि प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । जसमा भनिएको छ– ‘आज हाम्रो पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तत्कालीन ठोस कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद हो भन्ने कुरा स्पष्ट गरिनुपर्छ ।’ त्यस्तै, प्रचण्डको प्रतिवेदनमा मदन भण्डारी र जनताको बहुदलीय जनवादको योगदान तथा माओवादी जनयुद्ध र एक्काईसौँ शताब्दीको जनवादबारे उल्लेख छ ।
प्रचण्डको आठ बुँदे सुझावमा पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्ने गरी पार्टी अनुशासन र पद्धतिविपरीत बोल्ने, लेख्ने, भेला, बैठक गर्ने काम बन्द गर्नुपर्ने उल्लेख छ । ‘अनुशासनहीन काम गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’– सुझावमा भनिएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल