Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पार्टीको आन्तरिक समस्या छलफलबाट समाधान खोजिनुपर्छ । पार्टीका बैठक छलेर संस्थापन निरंकुश देखिएपछि त्यहाँभित्रको असन्तुष्टि मैदानमा पोखिएको छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध महामन्त्री गगन थापाले सार्वजनिकरुपमै असन्तुष्टि पोखिरहेका छन् । सभापति देउवाले पनि सार्वजनिक मञ्चबाटै जवाफ दिएका छन् । गत शुक्रबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले पार्टी नेतृत्वमा रहेका केही व्यक्तिले गरेका गल्तीको भारी आफूहरूले बोक्न नसक्ने बताएका थिए । त्यसको भोलिपल्टै सभापति देउवाले पनि पार्टीमा नेतृत्वलाई गाली गरेरमात्रै केही नहुने जवाफ दिए । सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसमा पछिल्लो समय नेताहरूका यस्तै घोचपेच र सवालजवाफ बाहेक सन्नाटा छ । उपनिर्वाचनको परिणाम, सत्ता समीकरणमा लेनदेन र नक्कली भुटानी शरणार्थी प्रकरणले आन्तरिक शक्ति संघर्ष चुलिएपछि कांग्रेसका औपचारिक छलफल र बैठक बस्न सकेको छैन ।
जेठ महिनाभर वडादेखि क्षेत्र, जिल्ला र प्रदेशहरूमा सम्मेलन गर्न निर्देशन गरेको कांग्रेसले केन्द्रमा भने बैठकसमेत गर्न सकेको छैन । सभापति देउवाले १० महिनादेखि केन्द्रीय समिति बैठक नै राखेका छैनन् भने राष्ट्रिय राजनीतिका कतिपय महत्वपूर्ण सवालमा समेत पार्टीभित्रका छलफललाई टार्दै लगेका छन् । पार्टी विधानको पालनाभन्दा पार्टीभित्रका प्रतिपक्षीलाई पेलेर जाने देउवा नीति हाबी भएको नेताहरूको आरोप छ । त्यहीकारण १९ जेठमा महामन्त्री थापाले देउवामाथि उनको अकर्मण्यता औंल्याउँदै देउवाले गरेका गल्तीको भारी आफूहरू बोक्न नसक्ने बताएका थिए । थापाले सार्वजनिक मञ्चबाट देउवाको अकर्मण्यताबारे बोलेकै भोलिपल्ट सभापति देउवाले जवाफ फर्काउँदै पार्टीमा काम गर्न चाहने कसैलाई पनि नरोकेको दाबी गरे । आफ्नो कार्यशैलीमाथि प्रश्न उठेपछि दबाबमा परेका देउवाले यसपटक अब आफू सभापति नबन्ने सार्वजनिक घोषणा नै गरे, तर महामन्त्रीद्वय थापा र शर्मामात्रै होइन, दोस्रो पुस्ताका धेरै युवा नेताहरू देउवाले यही कार्यकाल पुरानै चरित्र प्रदर्शन गरे अर्को चुनावपछि पार्टी नराम्ररी खुम्चिएर जाने त्रासमा छन् । मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भए पनि कांग्रेसको निर्णय प्रक्रियामा भने अझै पनि पार्टीको सभापति नै हाबी हुने गरी विधानको प्रबन्ध छ । अझ १४ औं महाधिवेशनबाट केन्द्रीय समितिमा दुई तिहाई बहुमत पाएका सभापति देउवाले त्यसयता पार्टीभित्र मनलाग्दी अभ्यास गर्दै आएका छन् । महाधिवेशनबाट सभापतिमा देउवा तथा महामन्त्रीमा थापा र विश्वप्रकाश शर्मासहित केन्द्रीय समितिमा युवा र नयाँ अनुहारको उल्लेख्य प्रतिनिधित्व हुँदा संगठनमा तरंग पैदा गरेको कांग्रेसले महाधिवेशनपछि भएका चुनावमा भने त्यहीअनुरुपको सफलता पाएन । पार्टीका निर्णय प्रक्रियामा देउवाको एकलौटी चल्दा महामन्त्रीहरू निरीह बनेका छन् । महाधिवेशन भएको डेढ वर्षसम्म पनि कांग्रेसको केन्द्रीय समिति अपुरो छ । भ्रातृसंस्थाहरू निष्क्रिय छन् भने महाधिवेशनको छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग र समितिहरू अहिलेसम्म गठन भएका छैनन् । हजारौं कार्यकर्ताले पार्टीमा जिम्मेवारी नपाएको गुनासो गरिरहेका बेला सभापति देउवाले भने कार्यकर्तालाई भूमिका दिन आलटाल गर्दै आएका छन् । सभापति देउवाले नचाहेकै कारण कांग्रेसको केन्द्रीय समिति कार्यकाल सकिन लाग्दासम्म पनि अपुरो छ । विधानबमोजिम छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागहरू गठन भएका छैनन् भने भ्रातृ संस्थाहरूको अवस्था भद्रगोल छ । नेताहरूले विभाग गठनदेखि भ्रातृ संस्थाको पुनःगठनसम्मका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरे पनि सभापति देउवाले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल