Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा विधि बसाल्ने गगनको बाचा

काठमाडौं । काँग्रेस पार्टीभित्र नेतृत्वप्रतिको आक्रोश चुलिएको छ । प्रजातान्त्रिक पार्टी भएका कारण त्यहाँ नेतृत्वप्रति असन्तुष्टि जाहेर गर्न पाइन्छ । त्यो छूट कम्युनिष्ट पार्टीहरुमा छैन । पार्टी नेतृत्वको विरुद्ध जेहाद छेडेका महामन्त्री गगन थापाको अभियानमा अहिले देशभरिका कार्यकर्ता जोडिन थालेका छन् । नेपाली कांग्रेसका नेता–कार्यकर्तामा देखिएको अलमल चिर्न र मतदातामा आशाको सञ्चार जगाउन महामन्त्री गगन थापा पार्टीले लामो समयदेखि अवलम्बन गर्दै आइरहेको कार्यशैली परिवर्तन गर्ने प्रयासमा देखिन्छन्। गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिकूल आएपछि उनी पार्टीको कार्यशैली फेर्न खोजिरहेका छन्। त्यसका लागि पार्टीको सदस्यतादेखि टिकट वितरणसम्मको विधि फेर्ने योजना उनले अघि सारेका छन्। कांग्रेसले अवलम्बन गर्दै आएको परम्परा र नेतृत्वको कार्यशैलीमा परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेपछि नेता–कार्यकर्तामा उर्जा भर्न तथा मतदातामा आशाको सञ्चार जगाउन थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर यो प्रयासमा लागेका हुन्। कांग्रेसको विधानमा उल्लेख भएअनुसार पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टी सम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने कर्तव्य महामन्त्रीको हो। सोही अधिकारमा टेकेर महामन्त्री थापाले कांग्रेसको परम्परागत शैली परिवर्तन गरेर नयाँ ढंगले पार्टी अघि बढाउने प्रयासस्वरुप केन्द्रीय कार्यसमिति मातहतका निकायलाई जेठ मसान्तभित्र सम्मेलनहरु सम्पन्न गर्न निर्देशन दिइसकेका छन्। महामन्त्री थापाले पार्टीका तर्फबाट सम्मेलन गर्न दिइएको निर्देशनलाई जिल्ला कार्यसमितिहरुले सकारात्मक रुपमा लिएको पनि बताए। कांग्रेस रुपान्तरणका लागि महामन्त्री थापाले यसपालिदेखि परम्परागत शैलीमा वितरण हुँदै आएको क्रियाशील सदस्यता वितरणलाई खुला गर्ने तयारीसमेत गरेका छन्। असार १ बाट कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने व्यक्तिले अनलाइन फाराम भर्न सक्ने थापाको भनाइ छ। यसअघि कांग्रेसले अधिवेशन हुने वर्ष मात्रै क्रियाशील सदस्यता बाँड्ने गरेको थियो। क्रियाशील सदस्यता वितरण गर्दा पनि नेताहरुले आफूनिकटका व्यक्तिहरुलाई मात्रै दिँदै आएका थिए। कांग्रेसमा क्रियाशील सदस्य बन्न इच्छुकले समेत सहजै सदस्यता नपाउने अवस्था देखिँदै आएको छ। केन्द्रबाट पठाइएको क्रियाशील सदस्यता फाराम जिल्ला कार्यसमितिले प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिमार्फत् तलको एकाइलाई पठाउने र एकाइले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने महामन्त्री थापाले बताए। उनले पार्टीका पुराना क्रियाशील सदस्यहरुलाई जिल्लाबाटै सदस्यता प्रमाणपत्र दिने व्यवस्था पनि सुरुवात गर्न खोजेका छन्। कांग्रेसले स्थानीय सरकारको नेतृत्वमा रहेका नेताहरुलाई पार्टीप्रति जवाफदेही बनाउन र पार्टीले जनतासामु गरेको वाचाहरु स्थानीय सरकारमार्फत् पूरा गराउन जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम पनि गर्ने भएको छ। कांग्रेसले भदौमा नीति अधिवेशन गर्ने गरी काम भइरहेको महामन्त्री थापाले बताए। उनका अनुसार अब बस्ने केन्द्रीय कार्यकार्यसमिति बैठकले नीति अधिवेशनको मिति र स्थान तय गर्नेछ। नीति अधिवेशनबाट कांग्रेसमा आन्तरिक र संसदीय निर्वाचनका लागि टिकट वितरणको परम्परागत शैली परिवर्तन गर्नेसमेत महामन्त्री थापाको आन्तरिक तयारी छ। उनले अर्का महामन्त्री शर्मासँग बसेर टिकट वितरणका लागि अपनाइने विधिको मस्यौदासमेत तयार पारिसकेका छन्। कांग्रेसमा अहिलेसम्म सीमित शीर्ष नेताहरु बसेर टिकट वितरण गर्दै आएका छन्। महामन्त्रीद्वयले तयार पारेको मस्यौदाअनुसार टिकट वितरणको परम्परागत शैली परिवर्तन गरेर क्रियाशील सदस्यहरुबाट उम्मेदवार छान्ने विधि अपनाइने छ।