Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनको छटपटी र देउवा–कोइरालाको मित्रता

काठमाडौँ । पार्टीको नेतृत्व दोस्रो पुस्तामा ल्याउन गगन थापाले सभापतिमा स्वीकार गरेका वरिष्ठ नेता डा. शेखर कोइराला अन्ततः पार्टी सभापति शेरबहादुर देउवाकै काँध चढेर पार्टी नेतृत्व लिने योजनामा अघि बढेका छन् । पार्टीको नेतृत्व तत्कालै युवा पुस्तामा जानुपर्ने भन्दै अभियानमा रहेका महामन्त्री गगन थापा अब यो वा त्यो गूट पार्टीमा सकिएको भन्दै नेतृत्व हत्याउने योजनामा युवाहरुको साथ पाएका हौसिएका छन । एउटै मञ्च साझेदारीसमेत नगर्ने कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिस्पर्धी शेखर कोइराला शनिबार भक्तपुर कांग्रेसको जिल्ला सम्मेलनमा सँगै देखिए । देउवानिकटका आयोजकले एकातिर देउवा र अर्कोतर्फ कोइरालाको तस्बिर अंकित ब्यानर ठाउँ–ठाउँमा राखेका थिए । देउवाले पार्टी कब्जा गरेको भन्दै संस्थागत रूपमा समूहका भेला मात्र होइन, पार्टी र सरकारका सम्पूर्ण जिम्मेवारीमा ४० प्रतिशत हिस्सा दाबी पनि गर्दै आएका कोइरालाले सभामा भने, कांग्रेसमा गुट उपगुट केही छैन त भन्दिनँ । तर, अब पनि गुट उपगुट गरेर अघि बढ्न थाल्यौं भने हामी समाप्त हुन्छौं । उनले यही वाक्य बोलेर मन्तव्य टुंग्याएपछि प्रसन्न देखिएका देउवाले सद्भावपूर्ण प्रतिक्रिया पनि दिए । अघिल्लो दिन, शुक्रबार पनि ‘डेमोक्र्याटिक लयर्स एसोसिएसन’ को महाधिवेशनमा सहभागी हुन देउवा र कोइराला एउटै उडानबाट चितवनको भरतपुर ओर्लिए, महामन्त्री गगन थापा भने अघिल्लो उडानबाटै पुगेका थिए ।
तीन वर्षपछि हुने १५ औं महाधिवेशनमा देउवाको उत्तराधिकारी को हुने भन्ने स्पष्ट भइसकेको छैन । देउवाका अविच्छिन्न सहयोगी तथा उपसभापति पूर्णबहादुर खड्कादेखि गत महाधिवेशनमा रणनीतिक सहयोग गर्ने प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि उनका उत्तराधिकारीका दाबेदार हुन् । यो प्रश्न किन पनि सान्दर्भिक छ भने विधानअनुसार सभापतिका रूपमा देउवाको यो अन्तिम कार्यकाल हो । संस्थापन इतरपक्षका अर्का एक नेताका अनुसार देउवाले कोइरालालाई उत्तराधिकारी बनाउनेभन्दा पनि गगनको विद्रोहलाई निस्तेज बनाउने नीति लिएका छन् । महाधिवेशनमा पाएको ४० प्रतिशत हैसियत कोइरालालाई दिन पनि देउवा तयार थिएनन् । लोकप्रिय मतका साथ महामन्त्री निर्वाचित भएपछि देउवाले तत्काल गगनलाई उपयोग गरे । पार्टीका महत्त्वपूर्ण बैठक र छलफलमा शेखरलाई बेवास्ता गरेर गगनलाई सहभागी गराउँथे । एमसीसी पारित गर्दासम्म गगनलाई साथमा लिएर हिँडेका देउवा त्यसपछि भने शेखरलाई विश्वासमा लिने काममा लागेको ती नेता बताउँछन् । पार्टी महाधिवेशनपछि शेखरलाई २५ औं वरीयतामा राखेका देउवा वरिष्ठ नेताको हैसियत दिन तयार छन्, उनका लागि पार्टी कार्यालयमा छुट्टै कार्यकक्ष पनि बन्दै छ । यता, देउवालाई कोइरालाको पनि साथ छ । किनकि पार्टीबाट मन्त्री छनोट गर्दा गगनले भागबन्डाको निहुँ खोजेर महिना दिन नै रोके, तर पछि कोइरालाको सिफारिसमा देउवाले नाम टुंग्याइदिए । कोइरालाको साथ पाएपछि सभापतिले महामन्त्रीद्वयको आवाज दबाइदिएका छन् । देउवाले सार्वजनिक मञ्चबाटै अबको महाधिवेशनबाट नेतृत्व छाड्ने बताउँदै पनि आएका छन् । तर, त्यतिन्जेल कुरेर बस्दा पार्टी र आफूहरूको भविष्यसमेत जोखिममा पर्ने ठानेर महामन्त्री थापाले नेतृत्व बदल्ने लक्ष्यसहित जिल्ला अभियानको उद्घोष गरिसकेका छन् । यही बेला देउवाप्रति नरम नीति अख्तियार गरेर कोइरालाले संस्थापन र इतरपक्ष दुवै खेमामा हलचल पैदा गराइदिएका छन् ।
संस्थापन पक्षीय केन्द्रीय सदस्य नैनसिंह महर पार्टीको आन्तरिक विषयमा कम बोले पनि सरकारका विषयमा कडा आलोचना गरेर कोइरालाले फरक विचारको नेतृत्व नछाडेको बताउँछन् । पार्टी सभापतिले आफ्नो उत्तराधिकारीका रूपमा शेखरलाई अघि बढाउने कुरामा उनी पनि विश्वस्त छैनन् । शेखर कोइरालासँग निकट सम्बन्धमा रहेका विश्लेषक पुरञ्जन अचार्यको दाबीमा शेखर देउवाका फोटोकपि हुन सक्दैनन् । उनका अनुसार शेखर र गगन विभाजित भएर छुट्टै समूह पनि हुँदैनन् । अर्का विश्लेषक गेजा शर्मा वाग्ले सत्ता र आगामी महाधिवेशनलाई केन्द्रमा राखेर देउवा र कोइराला दुवैले उपयोगिताको सिद्धान्तअनुसार सम्बन्ध विकसित गर्न खोजेको बताउँछन् । देउवाले १४ औं महाधिवेशनअघि ‘यो पार्टी बीपीले बनाएको हो, मैले छाड्नु पर्दा बीपीकै छोरालाई छाड्ने हो’ भनेर शशांकलाई भनेका थिए । जुन कुरा शशांकले केही दिनअघिको कान्तिपुरसँगको कुराकानीमा समेत स्मरण गराएका छन् । संस्थापन पक्षकै एक नेताका अनुसार देउवा आफू पछि आरजुको राजनीतिक भविष्य सुनिश्चित गर्न सक्ने उत्तराधिकारीको खोजीमा छन् । विश्लेषक वाग्लेका अनुसार भने कांग्रेसको भविष्यका लागि देउवा र कोइरालाको परम्परागत स्थायी गुटको विघटन अनिवार्य आवश्यकता बनिसकेको बताउँछन् । परम्परागत गुटको अन्त्य भएमा मात्रै कांग्रेस नयाँ शिराबाट रूपान्तरणको बाटोमा जान सक्ने उनको भनाइ छ ।


सम्बन्धित समाचार