Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको परिवार मोहले सीमा नाघ्दा ज्वाईं अर्थमन्त्री बने

माओवादी केन्द्रका एक नेता भने प्रधानमन्त्री प्रचण्डमा हद तहको परिवार लिप्सा देखिँदा जीवन आचार्य शक्तिशाली मन्त्री बन्न पुगेको तर्क गर्छन् । जीवन आचार्य गैरराजनीतिक पृष्ठभूमिका मान्छे हुन्, तर प्रचण्डको परिवारसँग जोडिनु उनको बलियो योग्यता बन्यो, ती नेता भन्छन् ।

माओवादीमा तल्लो तहबाट संघर्ष गर्दै आएका नेता दुर्गा चापागाईंको उदाहरणबाटै जीवन आचार्य मन्त्री बन्नु पछाडि प्रचण्डको परिवार मोह प्रष्ट हुने उनी बताउँछन् । दुर्गा चापागाईंले चाहेका भए अहिले आन्तरिक मामिला मन्त्री बन्न सक्नुहुन्थ्यो । तर पार्टीभित्र अरुले अवसर पाउनुपर्छ भन्ने कुरा उठेपछि मन्त्री नै हुन्न भन्नुभयो, ती नेता भन्छन् ।

गत २४ पुसमा एमाले नेतृत्व सरकार बन्दा आचार्यसँगै चापागाईं मन्त्री थिए । चापागाईँ प्रस्तावित पोलिटब्यूरो सदस्य भएकाले भौतिक पूर्वाधारसहित दलको तर्फबाट नेतृत्व गरेका थिए । तर यसपटक चापागाईं छुटे ।

‘अघिल्लो पटक काम गर्ने समय नभएको भए दुबैलाई अवसर दिइनुपथ्र्यो, तर ज्वाईंको बढुवा गरेर दुर्गा चापागाईंलाई पाखा लगाइयो, माओवादीका एक प्रदेशसभा सदस्य भन्छन्, प्रचण्ड कमरेडले यति धेरै परिवारं मोह नदेखाएको भए हुने ।

ती नेता अनुसार, मुख्यमन्त्री नियुक्त हुनु अगाडि नै आचार्यलाई अर्थ मन्त्री बनाउने निर्देशन केन्द्रबाट दिइएको थियो । पार्टी केन्द्रकै निर्देशन भएपछि माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आफै आचार्यलाई अर्थमन्त्री बनाउन लागे । अघिल्लो पटक जीवनले भौतिक पूर्वाधार मन्त्रालय माग्दा आङ्बोले रोकेर पर्यटन, वन तथा वातावरण मन्त्रालयतिर लगेका थिए’ उनी भन्छन् ।

उनका अनुसार, चापागाईंले मन्त्री नहुने स्टाटस लेख्नुको कारण पनि आफू भन्दा जुनियर आचार्यले रोजाइको मन्त्रालय लिने निश्चित हुनु हो । ‘कोशी प्रदेश सरकार निर्माण सम्बन्धमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलभित्र माननीयज्यूहरुले राख्नुभएको आलोपालो गरौं भन्ने राय सुझावलाई आत्मसात गर्दै म यसपटक सरकारमा नजाने निष्कर्षमा पुगे, चापागाईंले लेखेका थिए ।

जीवन आचार्य अघिल्लो सरकारमै पार्टीका तर्फबाट नेतृत्व गर्न चाहेका थिए । तर त्यसबेला पार्टीभित्र विरोध भएपछि चापागाईँको नेतृत्वमा उनी सहभागी भए । संसदीय दल र सिंगो पार्टी उहाँलाई मन्त्री बनाउने पक्षमा थिएन । बाहिर आलोचना हुने कुरा पनि उहाँले बुझ्नुपर्थ्यो माओवादीका अर्का नेता भन्छन्, प्रचण्डका ज्वाईं भएकै कारण उहाँले अवसर पाउँदा जनयुद्ध लडेका र पार्टीमा दुःख गरेका साथीहरु छुट्ने निश्चित थियो ।

तर प्रचण्ड आफै ज्वाईंलाई अवसर दिने पक्षमा उभिएपछि माओवादीका अरु नेताको चाहनाले काम गरेन । प्रचण्डकी छोरी गंगासँग विवाह गरेपछि पार्टीमा लागेका जीवनलाई २०७४ कै चुनावमा टिकट दिइएको थियो । तर वाम गठबन्धन हुँदा पनि कांग्रेसका चुमनारायण तबदारसँग जीवनले जित्न सकेनन् । यसपटक त्यही क्षेत्र मोरङ–६, १ बाट उम्मेदवार बन्ने अवसर पाए ।

ज्वाईंलाई उम्मेदवार बनाउन प्रचण्डले कांग्रेससँग प्रतिनिधिसभा निर्वाचन क्षेत्रकै टिकट साटेका थिए । पाँच दलीय गठबन्धनमा सोलुखम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार माओवादीको भागमा परेको थियो । त्यहाँ २०७४ मा चुनाव जितेका हेमकुमार राईले टिकट पाउने निश्चित जस्तै थियो ।

तर प्रचण्डले सोलुमा पाएको टिकट कांग्रेसका बलबहादुर केसीलाई दिएर मोरङ–६, १ को प्रदेशसभा लिएका थिए । यो साटफेरबाट प्रसन्न बलबहादुरले आफ्नो सभापति शेरबहादुर देउवाबाट अन्यायमा परेपनि प्रचण्डले न्याय गरेको बताएका थिए । तर केसीले सोलुमा एमालेका मानवीर राईलाई जित्न सकेनन् ।

यो पृष्ठभूमि र घटनाक्रमले प्रधानमन्त्री प्रचण्डमा ज्वाईं जीवनलाई शक्तिमा लैजाने चाहना कुन तहमा छ भन्ने प्रष्ट हुन्छ । तर माओवादी प्रदेशसभा संसदीय दलका नेता आङ्बो भने आचार्यलाई मन्त्री बनाउने निर्णयको बचाउ गर्छन् । यसमा केन्द्रको कुनै निर्देशन छैन, प्रदेशको निर्णय हो । मेरै प्रस्तावमा उहाँ सरकारमा जानु भएको हो, आङ्बो भन्छन् ।


सम्बन्धित समाचार