Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । महाधिवेशनपछि सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा खासै उत्साह देखिएन । पार्टी शिथिल भएको र गति दिने भन्दा पनि गुटगत हिसावमा कसको पक्षमा बोल्दा फाइदा हुन्छ भन्ने हिसाव हिताव त्यहाँ भयो । कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षदेखिका राजनीतिक मुद्दा र आम नागरिकले उठाइरहेका सवालमा केन्द्रीय कार्यसमिति बैठकमा कुनै धारणा राखेनन् । आठ दिनसम्म चलेको बैठकमा पदाधिकारी र सदस्यले उठाएका प्रश्नलाई पनि उनले पन्छाए । छलफलका लागि लिखित दस्तावेज पनि प्रस्तुत गरेनन् । बैठक समापनका क्रममा देउवाले भने, धेरै आलोचना होला भन्ने थियो, सोचेभन्दा धेरै कम भयो। अर्कातिर महामन्त्री गगन थापाले सार्वजनिक तहमा उठाइरहेको संसदीय दलको नेता परिवर्तनको मुद्दा केन्द्रीय कार्यसमितिमा पनि प्रस्टसाथ राखे । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने मुद्दामा पनि फरक मत राखे । देउवाको अनुमति नलिईकनै महामन्त्री थापा र विश्वप्रकाश शर्माले राजधानीमा असार २१ र २२ मा जिल्ला सभापतिहरूको बैठक बोलाएका थिए । अगाडि नै अनुमति लिन खोजेको भए सम्भव नहुने बुझेरै उनीहरूले बैठक बोलाइसकेपछि मात्रै देउवालाई जानकारी दिएका थिए । यसबाट सशंकित देउवाले तत्कालै केन्द्रीय कार्यसमिति बैठक बोलाएर महामन्त्रीहरूले दिन खोजेको ‘विद्रोह’ को सन्देशलाई चिर्ने प्रयास गरे । आम नागरिकबीच खस्केको छवि र पार्टीभित्रकै अन्तरसंघर्षलाई लिएर सत्ता राजनीतिका दृश्य र अदृश्य शक्तिबीच हुने छलफल देउवाका लागि टाउको दुखाइका विषय थिए । प्रमुख सत्ता घटक दलका नेतृत्वबीच भएको भद्र सहमतिअनुसार आफू प्रधानमन्त्री हुने परिस्थिति नबिग्रियोस् भन्ने देउवा चाहन्छन् । बाहिर जेजस्तो कोलाहल भए पनि कांग्रेसभित्र आफू आलोचना मुक्त र निर्विकल्प रहेको सन्देश देउवाले बैठकबाट सत्ता गठबन्धन, विपक्षी दल र बाह्य शक्तिलाई एकैसाथ दिएको उनी निकट नेताहरू बताउँछन् । साउन २ देखि १० सम्म चलेको बैठक प्रत्यक्ष प्रसारण गरिएको थियो । खासगरी महामन्त्रीद्वय थापा र शर्माले नेतृत्वको विकल्प खोज्ने बहस अघि सारेपछि असन्तुष्ट बनेका देउवाले पार्टीभित्र उनीहरूको ‘हैसियत’ देखाउने भन्दै यस्तो रणनीति बनाएको संस्थापन पक्षका एक नेताले बताए । महामन्त्री थापाले बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘बैठक लाइभ गरेर सभापतिको उद्देश्य पूरा भयो होला’ भनेर व्यंग्य हानेका थिए । बैठकमा देउवाले देश र दुनियाँले कांग्रेसबारे थाहा पाउलान् भनेरै लाइभ गरिएको बताएका थिए । केन्द्रीय सदस्य नैनसिंह महर भने बैठक लाइभ गर्नुका पछि जसको जस्तो रणनीति भए पनि कांग्रेसको समर्थक र विरोधी सबैको ध्यान एक सातासम्म तानिनु सुखद भएको बताए । पार्टीको १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका नेता शेखर कोइराला केन्द्रीय कार्यसमितिमा आक्रामक भएनन् । पार्टी बैठक, विभाग, भ्रातृसंस्था, भ्रष्टाचार मुद्दा लगायत विषयमा कोइराला आक्रामक ढंगले प्रस्तुत हुन नसक्दा पार्टीभित्रको प्रतिपक्ष खेमा कमजोर बनेको चर्चा पनि कांग्रेस वृत्तमा छ । कांग्रेस संगठनको ४० प्रतिशतको नेतृत्व गरेका कोइरालालाई देउवाले अरू सामान्य केन्द्रीय सदस्य हाराहारी व्यवहार गरेर ७ मिनेटभन्दा बढी समय दिएनन् तर पनि उनले प्रतिवाद गरेनन् । अभिव्यक्ति नसकिँदै देउवाले माइकको लाइन काटिदिँदा कोइराला थपक्क बसेका थिए । संस्थापन पक्षीय सदस्य श्याम घिमिरेका अनुसार सभापति देउवाले पार्टीको प्रतिपक्षी नेतालाई समेत ‘म्यानेज’ गरेको सन्देश बैठकले दिएको छ । केन्द्रीय सदस्य महर देउवाको आलोचना र महामन्त्रीप्रतिको आलोचनाको लाभ शेखर कोइरालालाई भएको दाबी गर्छन् । बैठकले देउवा पार्टीभित्र कति सशक्त छन् भन्ने कुरा पनि प्रमाणित गरेको उनको भनाइ छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल