Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले कम्पनीको रेटिङसमेत गराइसकेको छ । रेटिङ संस्था इक्राले गरेको क्रेडिट रेटिङले प्राधिकरणलाई डबल ए प्लस दिएको छ । पहिलो चरणमा सर्वसाधारणलाई १० देखि २० प्रतिशत सेयर निष्कासनको तयारी गरिएको प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणको बोर्ड बैठकले फाइल स्वीकृत गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ । प्राधिकरण ऐन ०४१ मा रहेको स्पष्ट व्यवस्थाबमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ऊर्जाले अर्थ मन्त्रालयलाई सहमतिका लागि पत्र पठाएको छ । अर्थको सहमतिपछि मन्त्रिपरिषद्मा गएर स्वीकृति पाएपछि त्यसको प्रक्रिया अगाडि बढ्ने घिसिङले जनाए । अबको करिब ४ देखि ६ महिनामा प्राधिकरणको सेयर सर्वसाधारणको हातमा पर्नेछ । विद्युत् प्रसारण लाइन एवं आयोजनामा निर्माणमा लगानी जुटाउन प्राधिकरणले सर्वसाधारणलाई प्रिमियम दरमा सेयर जारीको तयारी गरेको घिसिङले जनाए । प्राधिकरणले जारी गरेको पछिल्लो तथ्यांकअनुसार नाफमा १ अर्ब ४ करोड रुपैयाँको कमी आएको हो । हिउँदमा पानी नपर्दा त्यसको असर नाफामा देखिएको घिसिङले जनाए । आर्थिक वर्ष ०७९–८० मा प्राधिकरणले भारतबाट १९ अर्ब ४४ करोड बराबरको बिजुली किनेको छ भने १० अर्ब ४५ करोड बिक्री गरेको छ । बिजुली बेचेर २० अर्ब रुपैयाँ कमाइ गर्ने लक्ष्य राखेको प्राधिकरणले समयमै वर्षात् नभएका कारण बिजुली निर्यात गर्न नपाएपछि त्यसको प्रत्यक्ष असर नाफामा देखिएको हो । गत आर्थिक वर्षमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको घिसिङको भनाइ छ । प्राधिकरणले भारतीय ऊर्जा खरिद बिक्री बजार ९आईईएक्स० मा हाल ४५२ मेगावाट बिजुली बिक्री गरिरहेको छ । यस्तै प्राधिकरणको सञ्चित नाफामा बढोत्तरी भएको छ । सञ्चित नाफा बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । दुई वर्षअघि ११ अर्ब रहेको रहेको सञ्चित नाफा बढेर ३६ अर्ब ६७ करोड पुगेको छ । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षमा ३७ अर्ब बढाएको छ । दुई वर्षअघि करिब ८१ अर्ब रुपैयाँ रहेको आम्दानी अहिले करिब १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । विगत दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण तथा वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरेको छ । त्यस्तै सरकारको कोषमा साँवा–ब्याज र रोयल्टी गरी ३० अर्ब जम्मा गरेको पनि प्राधिकरणले जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल