Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकार जनता नबाँचे पनि हुन्छ ?

काठमाडौं । जनताको बलिदानीले आएको लोकतन्त्र नेताहरुका लागि खेल मैदान भएको छ । आममाफीका नाममा राजनीतिक दलका अपराधी छुटाउने कामले सबैतिर आतंक सिर्जना गर्दैछ । चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका बाँके, नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले अदालतबाट ठहर भएकोमध्ये १२ वर्ष सजाय काट्न बाँकी थियो, तर सरकारले आममाफी दिएको छ । उनी अबिर र माला लगाएर गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवार आतंकित छन् । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालसहित ६ सय ७० जनालाई आममाफी दिएका थिए, त्यो पनि असोज ३ मा, संविधान दिवसका अवसरमा । संविधान दिवसमा अपराधीलाई आममाफी दिने प्रचलनले संविधानको धज्जी र परिवारको चैन उडाएको छ । तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे । असुलीमा व्यवधान गरेको भन्दै २०७२ असार २८ मा अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३–३ वर्ष कैद सजाय सुनाएको थियो । घटनास्थल नजिकै रहेको सिद्धार्थ कटेजको गेटबाट भागेका नवराज खत्री, विशाल बस्नेतसहितलाई मानपुरबाट, प्रीतम थापा र माधव परियारलाई घटनास्थल नजिकै घरमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । हत्यामा संलग्न रिगल, मनीष चौलागाईं, विवाद पाठक, हरि वली, यामबहादुर बुढा, सोहन सिंह ढकाल र दीपेन्द्र मल्ल फरार थिए । हत्यापछि फरार रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । त्यो बेला गुन्डा नाइकेहरूविरुद्ध प्रहरीले इन्काउन्टर शृंखला चलाएपछि रिगलले ज्यान जोगाउने उद्देश्यले आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ । ढकाललाई जन्मकैद फैसला भएपछि मानन्धर परिवारले न्यायको अनुभूति गरेको थियो । साबिक मुलुकी ऐन २०२० अनुसार उनी २० वर्ष कैद बस्नुपर्ने हो, गत असोज २ सम्म उनी कैद बसेको अवधि ८ वर्ष पुग्दै थियो । तर, कांग्रेससहितको गठबन्धन सरकारले उनलाई रिहा गरेको छ । जब, संविधान दिवसमा राष्ट्रपतिबाट सजाय मिनाहा पाउनेको सूचीमा रिगल समेटिए, त्यही दिन उनी जिल्ला कारागार दाङबाट ‘विजय जुलुस’ र सवारी लावालस्करसहित नेपालगन्ज पुगेका थिए । उनको रिहाइको निर्णयलाई सरकारले प्रतिरक्षा गरेको छ । तर, हत्यारालाई तोकिएको सजाय पूरा नगरी राजनीतिक शक्तिका आडमा उन्मुक्ति दिएकामा जनस्तरबाटै विरोध भइरहेको छ । छोरा गुमाएकी ६२ वर्षीया आमा दुर्गादेवीलाई सरकारको निर्णयले झन् ठूलो पीडा दिएको छ । चेतनको हत्या हुँदा उनका छोरा दुई वर्षका थिए, अहिले ११ वर्षका भए । उनलाई बुवाको सम्झना छैन । तर अहिले समाचारबाट बुवाका बारेमा थाहा पाउँदै छन् । चेतनको हत्यापछि उनकी पत्नीलाई परिवारले नै दोस्रो बिहे गरिदिएको छ । दाइका हत्यारा छुटेपछि आफूहरूलाई झन् असुरक्षित महसुस भइरहेको चेतनका भाइ चिरञ्जीवीले बताए । चेतनका बुवा किशोरले दिएको किटानी जाहेरीमा छोराले रिगलको अपराधविरुद्ध बोल्ने गरेकाले हत्या भएको उल्लेख छ । हत्यामा संलग्नमध्येका यामबहादुर बुढा मगरले पनि रिगलको नेतृत्वमा आफूहरूले विभिन्न गाडी समिति, निर्माण व्यवसायी, इन्डियन समितिबाट मासिक असुली गर्ने गरेको र त्यसमा मानन्धरले अवरोध पुर्‍याएपछि हत्या गरेको स्वीकार गरेका थिए । रिगलले नै होटल इन्द्रेणीमा कोठा खोज्न लगाई मानन्धरको निगरानीमा खटाएको उनको बयानमा उल्लेख छ । अपराध हुँदा कायम कानुनी प्रबन्ध अनि सर्वोच्चको परमादेशलाई आधार मानेर रिगललाई बाँकी सजाय मिनाहा गरिएको दाबी सरकारको छ । कारागार व्यवस्थापन विभागका निर्देशक कमल पाण्डेले कानुनअनुसार नै रिगलसहितका कैदी संविधान दिवसका दिन छुटेको बताए । संविधानविद् विपिन अधिकारी हत्यामा जन्मकैद सजाय पाएका दोषीलाई दिइने माफी मिनाहा अपारदर्शी, विभेदकारी भएको र त्यसले पीडितलाई थप आहत दिने गरेको बताउँछन् ।