Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । ठूला राजनीतिक दल विधि र पद्दतिमा भन्दा पनि पार्टी नेतृत्वको तजबिजमा चल्न थालेका छन् । नीति महाधिवेशनको समेत काम गर्ने गरी कांग्रेसले मंसिर १३–१५ मा महासमिति बैठक गर्ने पहिलो मिति तोकेको थियो । त्यसपछि मंसिर २९–पुस २ लाई तोकिएको बैठक पनि पुस १६–१९ लाई सारियो । पुसमा तय महासमिति बैठक पनि सार्न सभापति शेरबहादुर देउवाले जोडबल गरिरहेको उनीनिकट एक नेता बताउँछन् । महाधिवेशन भएको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने गरी कांग्रेसले दुई वर्षअघि केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गरेको थियो । ०७८ मंसिरमा दोस्रो कार्यकालका लागि पार्टी सभापति चुनिएका देउवाले यसबीच न नीति महाधिवेशन डाके न त महासमिति बैठक गर्ने तत्परता नै देखाइरहेका छन् । कांग्रेस पदाधिकारीहरूका अनुसार देउवाले जाडो र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई कारण देखाएर महासमिति बैठक सार्न खोजिरहेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा महासमिति बैठक सार्नुपर्ने कुनै कारण नभएको बताउँछन् । ‘सार्नुपर्ने अवस्था छैन । तर, महासमिति सार्ने मत आइरहेका छन् । महासमिति गर्नका लागि चाहिने कुरा भनेको सदस्य चयनको विषय पहिलो हो । यो पनि ८० प्रतिशत महासमिति सदस्य चयन भइसकेको छ । करिब २७र२८ निर्वाचन क्षेत्रमा निर्वाचन बाँकी छ । महासमिति गर्न हलको बुक र आर्थिक व्यवस्थापन पनि भइसकेको छ । दस्ताबेजहरूको सन्दर्भमा गृहकार्य गरिरहेका छौं । एक पदाधिकारीका अनुसार महासमिति बैठक सार्दै लैजानुका पछि राष्ट्रिय सभाको निर्वाचन मात्रै कारण छैन, सत्ता आगमनको बाटोमा पार्टीभित्रैबाट बाधा हुने कुनै गतिविधि नहोस् भन्नेमा देउवा सचेत छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिढाउने खालका गतिविधि र चुनावी गठबन्धनको विरोधमा कुनै नीतिगत प्रस्ताव पास नहोस् भन्ने देउवा चाहन्छन् । ‘प्रचण्डलाई चिढाएर होइन, फकाएर मात्रै सत्ता ल्याउन सकिन्छ भन्नेमा पार्टी सभापति हुनुहुन्छ । महासमितिमा संस्थापनइतरपक्षीय नेताहरूले सरकारको प्रभावकारिता र चुनावी गठबन्धनको चर्को विरोध गर्ने रणनीति बनाइरहेका छन् । कार्यशैलीगत विषयमा कटुता भए पनि नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतरपक्षीय नेताको एजेन्डामा भने फरक मत छैन । कोइराला, थापा र शर्माले सार्वजनिक तहबाटै चुनावी गठबन्धन र सरकारको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएका छन् । चुनावी गठबन्धनका कारण अवसर गुमाएका तल्ला तहका ठूलो संख्याका नेता तथा कार्यकर्ता पनि गठबन्धनको पक्षमा नभएकाले देउवा हच्केको कतिपय नेताको भनाइ छ । सभापति देउवानिकट पार्टीका प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महत जाडोका कारणबाहेक महासमिति सार्नुपर्ने अन्य कारण नभएको बताउँछन् । पार्टीले टुंग्याउनुपर्ने र प्रस्ट्याउनुपर्ने धेरै प्रश्न भएकाले महासमिति बैठक तोकिएको मितिमा हुन आवश्यक भएको पौडेलले बताए । पहिलो कार्यकालको पाँच र दोस्रो कार्यकालको दुई वर्ष पार्टीको नेतृत्व गरिसकेका देउवाले पार्टी संगठनलाई नभएर सत्तालाई मात्रै केन्द्रमा राख्दा पार्टीको जनमत खस्कँदै गएको नेताहरूको ठम्याइ छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल