Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्यहरूले पटक–पटक अवसर पाएका, संघ, प्रदेश र स्थानीय तहका चुनावमा पराजित भएका र समानुपातिक सूचीमा परेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन नेतृत्वलाई दबाब दिएका छन् । पार्टीको बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश सदस्यले राष्ट्रिय सभा गठनको मर्मअनुसार अवसर नपाएका, विज्ञ र अनुभवी नेतालाई समेट्न जोड दिएका हुन् ।
चुनाव हारेका कांग्रेस नेता राष्ट्रिय सभा जाने जोडबलमा
त्यसो हुन नसके पार्टीले आम जनताको भरोसा र विश्वास गुमाउने चेतावनी केन्द्रीय सदस्यहरूले दिएका छन् ।मन्त्रीहरूको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बोलाइएको बैठकमा सदस्यहरूले राष्ट्रिय सभा सदस्यको निर्वाचन, मन्त्रीहरूको कामकारबाही र भ्रष्टाचार काण्डका विषयमा धारणा राखेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए । माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसमा ४ सयभन्दा बढी आकांक्षी सिफारिस भएर आएका छन् ।
तीमध्ये मुख्य चर्चामा ०४८ सालदेखि निरन्तर अवसर पाएका, पटक–पटक चुनाव हारेका, समानुपातिक सूचीमा परेका केन्द्रीयस्तरका नेताहरू नै छन् । चुनावका बेलामा टिकट पनि नछाड्ने, टिकट नपाउँदा समानुपातिक सूचीमा समेत आफ्नै बस्ने नेताहरू फेरि घुमाउरो बाटोबाट राष्ट्रिय सभामा पनि जान खोजेको भन्दै केन्द्रीय सदस्यहरूले आक्रोश पोखेका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित एकतिहाइ २० सदस्यको अवधि फागुन २० देखि सकिँदै छ । म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था रहेकाले रिक्तमध्ये १९ स्थानमा माघ ११ मा निर्वाचन हुँदै छ । राष्ट्रपतिबाट मनोनीत हुने महिलाको एक स्थान रिक्त छ । सत्ता गठबन्धनबीच दलीय भागबन्डा नमिल्दै राष्ट्रिय सभामा जानका लागि कांग्रेसमा पुरानै अनुहारका नेताहरूको तँछाडमछाड देखिएको छ । राष्ट्रिय सभाको अध्यक्षसमेत हुने लक्ष्य बनाएर पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा आउन चाहेका छन् । यी दुवै नेताहरू ०४८ सालदेखि निरन्तर अवसर पाएकामा पर्छन् ।
सिटौला ०७४ र ०७९ दुवै निर्वाचनमा पराजित नेता हुन् भने श्रेष्ठ टिकट नपाएपछि समानुपातिक सूचीको आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा थिए । समानुपातिकबाट सांसद हुन वञ्चित भए पनि श्रेष्ठले फेरि राष्ट्रिय सभा ताकेका छन् । संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य मीनेन्द्र रिजाल पनि राष्ट्रिय सभाको अध्यक्ष बन्ने प्रयासमा छन् । ०७९ मा उनको निर्वाचन क्षेत्रमा सुजाता कोइरालालाई टिकट दिएपछि रिजाल चुनावमा उठ्न पाएका थिएनन् । चुनावमा टिकट नपाए पनि उनी पटक–पटक सांसद र मन्त्री भइसकेका नेता हुन् । पूर्वउपप्रधानमन्त्रीसमेत भएकी नेतृ सुजाता चुनाव हारे पनि फेरि राष्ट्रिय सभा आउने दौडधुपमा छिन् ।
राष्ट्रिय सभामा सदस्यका लागि आकांक्षा राख्ने केन्द्रीयस्तरका नेताहरूमा सहमहामन्त्री फरमुल्ला मन्सुर, आनन्द ढुंगाना, पुष्पा भुसाल, डिना उपाध्याय छन् । त्यस्तै गण्डकी प्रदेशमा मुख्यमन्त्री हुँदा विवादास्पद निर्णयले चर्चा कमाएका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्वअर्थ राज्यमन्त्री तथा लेखा समितिका पूर्वसभापति भरत शाहसमेत राष्ट्रिय सभा जाने दौडमा छन् । गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापालगायत दौडधुपमा छन् ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार एउटा समूहमा बढीमा तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरिए पनि तलबाट सबैको नाम पठाइएकाले आकांक्षीको संख्या बढी भएको हो । बैठकमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले बिनाविभेद उम्मेदवार चयन गर्ने गरी पार्टीमा मापदण्ड बनाइनुपर्ने बताए । पार्टीका प्रचार विभागका प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले कसैलाई सधैंभरि र कसैलाई कहिल्यै नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । केन्द्रीय सदस्य डिला संग्रौलाले न्यायको सिद्धान्तअनुसार मापदण्ड बनाउन माग गरिन् भने अर्का केन्द्रीय सदस्य दीपक गिरीले सबैलाई समेट्न, पार्टीभित्र भेदभाव नहुने गरी मापदण्ड बनाएर मात्रै उम्मेदवार चयन गर्नुपर्ने बताए ।
नेता गिरीले गरिब जनताले सहकारीमा जम्मा गरेको पैसा ठग्ने जोसुकैका विरुद्धमा भन्डाफोर अभियान चलाउनुपर्ने मागसमेत राखे । उनले राज्यका निकायलाई सहकारी ठगीमा गम्भीर हुनसमेत ध्यानाकर्षण गराए । टेरामक्स र एनसेललगायत प्रकरणमा कांग्रेसले संरक्षण दिने गरेको सन्देश जान थालेको भन्दै यसलाई चिरेर अघि बढ्न पार्टीले विशेष अभियान चलाउनुपर्ने मागसमेत उनले गरे । बैठकमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको कार्यसम्पादनप्रति सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका थिए । मन्त्रीहरूको कामप्रति प्रधानमन्त्रीकै असन्तुष्टि आयो । जनताले पनि राहत महसुस गर्न पाएका छैनन् । मन्त्रीले काम गर्न नसकेको हो कि काम गर्न नदिइएको हो, स्पष्ट पार्नुपर्छ, केन्द्रीय सदस्य मुक्ता यादवले भनिन् ।
बिहीबार मन्त्रिपरिषद्को बैठकसमेत परेकाले मन्त्रीहरूले आफ्नो कार्यसम्पादनको प्रगति विवरण भने बैठकमा राख्न नभ्याएको अर्का केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए । बैठकमा स्वास्थ्यमन्त्री मोहन बस्नेतले मात्रै आफ्नो कार्यसम्पादनका विषयमा धारणा राखेका थिए । केन्द्रीय सदस्य नैनसिंह महरले मन्त्रीका कामकारबाहीको निगरानी राख्न पार्टीले संयन्त्र बनाउनुपर्ने माग अघि सारे । केन्द्रीय सदस्य राजीव कोइरालाले मन्त्रीहरूको काम पनि गुटका आधारमा हुने गरेको आरोप लगाए ।
महामन्त्री गगन थापाले आगामी पुस १६ देखि माघ १२ गतेसम्म समुदायमा कांग्रेस अभियानको प्रस्ताव राखेका छन् । सहमहामन्त्री जीवन परियारले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित बासिन्दाका लागि पार्टी संयन्त्रले गरेका कामका बारेमा जानकारी गराएका थिए । बैठक लाइभका विषयमा सभापति देउवाले नै अनिच्छा देखाएको एक केन्द्रीय सदस्यले बताए । यसअघि पार्टीका अधिकांश नेताहरूको विरोधका बाबजुद देउवाले बैठक लाइभ गराएका थिए । सभापतिको कार्यशैलीप्रति पार्टीमा चर्को विरोधका बेला उनले केही शक्ति केन्द्र र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई देखाउनकै लागि बैठक लाइभ गर्ने रणनीति बनाएको बुझाइ कांग्रेसमा चलेको थियो । हामीलाई एक–दुई वटा बैठक पछि हुँदैन भन्नेमा निश्चिन्त नै थियो ।
बैठकको पारदर्शिताभन्दा पनि शक्ति केन्द्र र पार्टीभित्रकै विरोधी समूहलाई आफ्नो शक्ति देखाउने उद्देश्यका साथ बैठक लाइभ गरिएको हो, संस्थापन इतरपक्षीय एक नेताले भने, त्यो उद्देश्य पूरा भएपछि सभापति देउवा नै लाइभ नगर्ने स्थितिमा आइपुग्नुभयो ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल