Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनताको घाँटी सुकाउँदै बालेन

काठमाडौं । मुलुकमा भएका राम्रा काम जति सबै नयाँहरुले गरेका र देश बिगार्ने जति पुराना दल हुन् भन्ने भाष्य सिर्जना गरिएको छ । तर सबै नयाँ राम्रा र सबै पुराना नराम्रा भन्ने होइन । नयाँले गरेका कामको प्रचार हुन्छ भने पुरानाले गरेका काम काम मात्रै हुन्छ प्रचार हुँदैन । अहिले महानगरमा भएका कामको प्रचार पनि त्यस्तै हो । सडक विभागले सडक सुधार्छ, शहरी विकासले ढल सुधार्छ तर प्रचार महानगर प्रमुख बालेन्द्र शाहको हुन्छ । महानगरमा बालेन काम नगरेका भने होइनन्, उनको आगमनपछि महानगरमा थुप्रै सुधारहरु भएका छन् । महानगरअन्तर्गतका स्वास्थ्य, शिक्षा, सडक, बत्तिमा सुधार भएका छन् । तर जनतासँग प्रत्यक्ष जोडिएको खानेपानी समस्याको समाधानमा बालेन उदासिन देखिएका छन् । आफैं इञ्जिनियर बालेन शाहले सिंहदरबारका शासकलाई चुनौती दिएजस्तो राजधानीका जनतालाई समस्यामा पार्न र बदला लिन हुँदैन । खानेपानीको समस्या राजधानीबासीको प्रमुख समस्याका रुपमा लिइन्छ । जहाँ श्रोतको पर्याप्त उपलब्धता हुँदैन त्यहाँ ठूला आयोजनाहरुका लागि विदेशी दातृ राष्ट्रहरुको ऋण अपेक्षा गरिन्छ । उपत्यकाको खानेपानी समस्या समाधानका लागि सरकारले एशियाली विकास बैंकको ऋण स्वीकार गरेर खानेपानी संस्थानलाई विभाजन गरी स्थापना भएका काठमाडौं उपत्यका खानेपानी लि., काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड जस्ता संस्थाहरुलाई काठमाडौं महानगरको सहयोग जरुरी छ । केयुकेएल बोर्डमा काठमाडौं महानगरका दुई सदस्य रहने व्यवस्था छ । तर, यस पटक मेयर बालेन शाहले आफ्ना सल्लाहकारहरुलाई बोर्ड सदस्य बनाएर पठाएपछि त्यहाँ अन्योल खडा भएको छ । भ्याली बोर्डका अध्यक्ष महानगर प्रमुख नै हुने भएकाले शाहको उपस्थिति बिना बोर्डले आफ्ना नयाँ योजनाहरु ल्याउनु त परको कुरा बजेट समेत पारित गर्न सक्दैन । त्यस्तै केयुकेएल बोर्डमा महानगरका दुई प्रतिनिधिको अनुपस्थितिले बैठक सम्पन्न हुने र नयाँ आयोजनाहरु कार्यान्वयनमा लाने बाटो खुल्दैन । तर, बालेनले आफ्ना सल्लाहकारहरुलाई केयुकेएल बोर्डमा सदस्याका लागि सिफारिश गर्नु कानुन संवत छ छैन भन्ने समेत ख्याल गरेनन् । किनकि केयुकेएल ऐनमा महानगरका दुई कर्मचारीलाई बोर्ड सदस्यका रुपमा राखिएको छ । काठमाडौंको मौसमअनुसार खानेपानीको समस्या बढिरहेको अवस्थामा एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको खानेपानी आयोजनाबाट वितरित पानी सुन्दरीजलहुँदै उपत्यका तीनवटै शहरमा पठाउने दायित्व केयुकेएलको हो । केयुकेएलले वितरण र मर्मतको जिम्मा लिएको अवस्थामा स्थानीय सरकारको नाताले काठमाडौं महानगर प्रमुखले पनि खानेपानी व्यवस्थापनको दायित्व लिनु जरुरी हुन्छ । जनतालाई फोहोरको व्यवस्थापन, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्ने दायित्व समेत स्थानीय सरकारको नाताले महानगर प्रमुखको तहबाट ग्रहण गर्नु पर्ने अवस्थामा खानेपानी समस्या समाधानका लागि मेयर बालेन शाहले चासो नदिनु आफैंमा बिडम्बना हो । केयुकेएल बोर्डमा इञ्जिनियर कमल श्रेष्ठ अध्यक्ष रहेका छन् भने ललितपुर महानगर, महालक्ष्मी नगरपालिका, चेम्बर अफ कमर्शका एक एक जना प्रतिनिधि रहेका छन् । मेयर शाहले चासो नदिँदा भ्याली बोर्डका कार्यकारी निर्देशक सञ्जिव राणाले समेत अप्ठ्यारो महसुस गर्नु परेको छ । किनकि बोर्डले खानेपानीको श्रोत पहिचान र वितरणका लागि केयुकेएलका लागि आवश्यक निर्देशन गर्दछ । केयुकेएलको प्रोजेक्टको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना निर्देशनालयका लागि पनि बोर्डको निर्णयहरु जरुरी पर्दछ । सुन्दरीजलदेखि पाइप विस्तारको कार्यालाई तिव्रता दिएको आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं महानगरपालिकाबाट प्राविधिक मेयर बालेन शाहको साथ खोजीरहेको छ । यिनै शाहले जनतालाई दुःख दिने उद्देश्यले भौतिक पूर्वाधार मन्त्रालयबाट कलंकी चक्रपथ सडक खण्ड विस्तारको काममा गरिएको ढिलाईका विरुद्ध सडक विभागको गेटमा एक ट्रक धुलो थुपारिदिएपछि चर्चामा आएका थिए । उनले सरकारलाई चुनौती दिँदै जनताको पक्षमा काम गर्न दिएको दबाव जस्तै उपत्यकावासीको खानेपानी समस्या समाधानका लागि भ्याली बोर्ड र केयुकेएलको समस्यामा ध्यान दिए भने ती दुवै कार्यालयहरु जनताको पक्षमा काम गर्न सक्रिय हुने विश्वास गरिन्छ ।