Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झलनाथले छोडे पार्टी अध्यक्षको दाबी, घनश्यामलाई समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् ।

यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका थिए । तर बुधबार बिहान आफ्नै निवास डल्लु आएका भूसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति दिएका हुन् ।

एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ, छलफलमा सहभागी नेता नरेश शाहीले भने ।

सहमति अनुसार आगामी १६ असारदेखि काठमाडौंमा सुरु हुने दशौं राष्ट्रिय महाधिवेशनमा भूसाल पार्टी अध्यक्षको उम्मेदवार हुनेछन् । उहाँहरु दुवैले अध्यक्षको दाबी गरिरहँदा केही अप्ठ्यारो परिस्थिति बनेको थियो । अन्ततः झलनाथ खनालको उत्तराधिकारीका रुपमा घनश्याम भूसाल अगाडि बढ्ने सहमति भएको छ, खनाल निकट स्रोतले भन्यो ।

ती स्रोतका अनुसार भूसालले पनि खनाललाई आफू उत्तराधिकारीका रुपमा अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो ।

तर एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । दुवै नेताका पार्टीभित्र धेरै मानिस साझा थिए । त्यसैले खनाल र भूसाललाई मिल्न दबाब थियो ।

लामै छलफल पछि एउटा टुंगोमा पुगेका छौं । अब माधव नेपालसँग पनि कुरा हुन्छ । सकेसम्म हामी घनश्याम भूसाल सर्वसम्मत अध्यक्ष बनाउन चाहन्छौं, एक पदाधिकारीले भने, यो महाधिवेशनबाट हामी सर्वसम्मत रुपमा नयाँ नेतृत्वको सन्देश दिने प्रयासमा छौं ।

तर अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् । अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका छन् ।

चार दिनपछि नयाँ नेतृत्व चयन गर्नेगरी सुरु हुने महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।