Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय टीआरसी सम्बन्धी विधेयक बुधबार नै प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भएको सन्देश दिन लागिएको बताए । दोस्रो जनआन्दोलनपछि नयाँ संविधान जारी भइसकेपछिका यी १८ वर्षमा द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया अघि बढाउँदा थुप्रै उपलब्धि हाँसिल गर्यौँ, उनले भने, ‘हामीले ऐन संशोधन पनि अघि बढायौँ । यही प्रक्रियाबाट हामीले गति लिएका छौँ। आजै टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित हुनेछ । केही दिनमा राष्ट्रियसभाले पनि पास गर्ने छ । उनले द्वन्द्वपीडितलाई कुनै करकापमा नपर्ने गरी न्यायिक निरुपणको उपायमा देश जाने बताए । ओलीले अब बेपत्ता खोजबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सहमतिमै बनेर काम अघि बढाउने जानकारी दिए । नेपालले संसारलाई सन्देश दिने गरी द्वन्द्व व्यवस्थापन गरेको पनि बताए । नेपालले शान्ति प्रक्रियालाई दिगो रुपमा टिकाउन विश्वले नेपालबाट सिक्नुपर्ने पनि बताए ।
जटिल मुद्दा टुंगो लगाउन नेपाली दलहरू आफैं सक्षम
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जटिल कामहरू नेपालका राजनीतिक दलहरू आफैँ सम्पन्न गर्न सक्षम रहेका बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले संसद्मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले त्यसलाई सिद्ध गरेको बताए । जटिल कामलाई नेपाली राजनीतिक दलहरू आफैँ सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ, देउवाले भने । उनले समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई दलहरुले विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेको बताए । सभापति देउवाले यसलाई एउटा ऐतिहासिक उपलब्धिको घडी भएको पनि बताए । हामीले समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेका छौँ । त्यसमा आज हामी सबै राजनीतिक शक्ति र सरोकारवाला पक्षहरू एकैस्वरमा सर्वसम्मतिसहित उपस्थित भएका छौँ, उनले भने, यो आफैँमा एउटा ऐतिहासिक उपलब्धिको घडी हो ।
हतियार बिसाएपछि पार्टी फुटाइयो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे युद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि आफू नेतृत्वको पार्टी फुटाइएको गुनासो गरेका छन् । संसद्मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो गुनासो गरेका हुन् । भोलि बिहानसम्म पर्खिए देश दुर्घटनामा जानसक्छ । प्रत्येक क्यान्टोनमेनमा खुनखराबा हुन सक्छ । आजकै दिन, आजकै राति हतियार व्यवस्थापन हुनपर्यो, सेना समायोजन हुनपर्यो भनेपछि ११ बजे रातिपछि यो काम सम्पन्न गरियो विनाखुनखराबा, विना क्षति काम सम्पन्न गरियो, उनले भने, एउटामात्रै क्षति मैले र पार्टीले ब्यहोर्नुपर्यो । मैले सेना समायोजन गरेवापद, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापद मेरो पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो । देश बच्यो, शान्ति स्थापित भयो, मलाई गर्व छ । आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको बताए । उनले आफ्नो विशेष पहलमा नै सेना समायोजन र हतियार व्यवस्थापनको काम सकिएको सुनाए । अध्यक्ष दाहालले आफूलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सक्ने जिम्मेवारी दिएर गएको पनि बताएका छन् ।
२०८२ बैशाख १०
ताजा नेपाल
२०८२ बैशाख १०
ताजा नेपाल
२०८२ बैशाख १०
ताजा नेपाल