Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी ५ असोजमा राजधानी काठमाडौंमा सन्देश सभा गर्ने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टीपंक्तिमा एकताको सन्देश दिन सभा आयोजनाको निर्णय गरेको हो ।
दशौं राष्ट्रिय महाधिवेशन पछाडि केही आशंकाहरु, केही असमझदारीहरु देखिएका हुन सक्छन् । त्यसलाई चिरेर एकताबद्ध रहेको सन्देश दिन सभा गर्ने निर्णय गरिएको हो, उपाध्यक्ष जगन्नाथ खतिवडाले भने । एकीकृत समाजवादीले गत १६–२१ असारमा दशौं राष्ट्रिय महाधिवेशन गरेको थियो ।
उक्त महाधिवेशनबाट नेतृत्व चयनका निम्ति अपनाइएको प्रक्रियाप्रति नेताहरुमा असन्तुष्टि देखिने मात्र नभएर पदाधिकारी चयन गर्दा प्यानलगत प्रतिस्पर्धाबाट भयो ।
निश्चित नेताहरुबीचको विमर्शमा अध्यक्ष, सम्मानित नेता र महासचिव निर्विरोध गरिएको थियो । तीन प्रमुख पद निर्विरोध गरिएपछि बाँकी संरचना टुंग्याउने जिम्मा आफै लिएर महाधिवेशनमा भाग लिन आएका १,८४७ प्रतिनिधि घर पठाइयो ।
त्यसपछि नेतृत्व निर्माण गर्न अपनाइएको प्रक्रियाप्रति पार्टीभित्र चर्को असन्तुष्टि छ । त्यही असन्तुष्टिका क्रममा एकीकृत समाजवादीका केही सांसदहरू पार्टीको सम्पर्क, सम्बन्ध र निर्णय प्रक्रियाबाटै टाढा पुगेका छन् ।
विशेषगरी नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भइरहदा चर्चामा रहेका प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसान र धनबहादुर बुढा पार्टी नेतृत्वसँग टाढा हुन पुगेका छन् । यी सांसदहरुले नेतृत्व चयन प्रक्रियामै भाग लिएनन् ।
बारा–४ बाट निर्वाचित श्रेष्ठ नेतृत्वकै कारण महाधिवेशन प्रक्रियामा भाग लिन नसक्ने अवस्था आएको बताउँछन् । नेताहरु आफ्नो पद सुरक्षित गर्ने र अरुलाई भिडाउनेमा लाग्नुभयो । यसले स्वभाविक रुपमा असन्तुष्टि सिर्जना गरेको छ उनी भन्छन्, असन्तुष्टिलाई कसरी सम्बोधन गर्नुहुन्छ, त्यो नेताहरुको कुरा हो । तर असन्तुष्टिले सही ठाउँमा लैजादैन ।
नवौं महाधिवेशनबाटै एमाले केन्द्रीय कमिटीमा पुगेका प्रेम आले त एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन अघिबाटै निर्णय प्रक्रियाबाट अलग भएका थिए । उनले असारमा सम्पन्न दशौं महाधिवेशनमै भाग लिएनन् ।
महाधिवेशनमा भाग नलिएका आलेलाई एकीकृत समाजवादीले केन्द्रीय कमिटीबाटै हटाइएको छ । महाधिवेशनमै भाग नलिएकाले कमिटीमा नराखिएको नेताहरुले बताएका थिए ।
डोटीबाट निर्वाचित सांसद आलेले पनि दशौं राष्ट्रिय महाधिवेशन बहिष्कार गरेको र पार्टीप्रति रुचि नरहेको बताएका थिए । मलाई अब पार्टीप्रति रुचि छैन । जनताप्रति उत्तरदायी हुने हो, स्वतन्त्र भएर जनताको काम गर्ने हो, त्यसबेला आलेले भनेका थिए ।
यद्यपि दशौं महाधिवेशनपछि सत्ता समीकरण परिवर्तन हुँदा आलेले एकीकृत समाजवादीकै निर्णय पालना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गरे । तर पार्टीको भूमिका र गतिविधिमा उनी संलग्न छैनन् ।
आलेलाई केन्द्रीय कमिटीबाट हटाए पनि एकीकृत समाजवादीले कृष्णकुमार श्रेष्ठ र धनबहादुर बुढालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । गत १८ साउनमा पूर्णता दिइएको ३४४ सदस्यीय केन्द्रीय कमिटीमा श्रेष्ठ र बुढा केन्द्रीय सदस्य छन् ।
तर केन्द्रीय सदस्यहरुको मतदानबाट पदाधिकारी र पोलिटब्यूरो चयन हुँदा श्रेष्ठ र बुढाले बैठकमा भागै लिएनन् । जबकी डोल्पाबाट निर्वाचित बुढा गत ३० असारसम्म संघीय सरकारमा मन्त्री थिए । गत २१ फागुनमा सत्ता समीकरण फेरिदा एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र बुढा सहरी विकास मन्त्री बनेका थिए ।
तर १७ असारमा नेपाली कांग्रेसको समर्थन पाएर ओली प्रधानमन्त्री हुँदा एकीकृत समाजवादी सत्ताबाट बाहिरियो । मन्त्रीबाट हटेपछि बुढाले नेतृत्व चयनका निम्ति भएको प्रक्रियामै भाग लिएनन् ।
प्रेम आलेसँग नजिक मानिने बुढाले भने आफू जिल्लातिर भएकाले पार्टीको नेतृत्व चयन प्रक्रियामा भाग लिन नपाएको बताए । ‘एक महिनादेखि जिल्लामा जनतासँग छु, यहाँ भएकाले काठमाडौंको बैठकमा भाग लिन पाइन, उनले भने । सांसद बुढाले थप प्रतिक्रिया दिन चाहेनन् ।
तर श्रेष्ठले भने नेतृत्वसँग असन्तुष्टि भएकैले आफूहरु पार्टीको बैठकहरुमा नगइरहेको बताए । ‘सही तरिकाले महाधिवेशन भएन । अध्यक्ष हुनुपर्नेले सर्वसहमत अध्यक्ष भए, सम्मानित नेता र महासचिव पनि सर्वसहमत गरियो । राजेन्द्र पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइयो, तर जयन्ती राई र रामकुमारी झाक्रीलाई समेट्न पहल गरिएन’ उनी भन्छन्, यस्तै खाले कामहरुबाट मलाई चित्त बुझेको छैन ।
तर उल्टै पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाएर गलत काम भइरहेको उनले बताए । म यो पार्टीको संस्थापक हुँ । अहिले पनि निगाहमा केन्द्रीय सदस्य दिइएको छ श्रेष्ठले भने, भर्खरै बनेको पार्टी त्यस्तो अवस्थामा विभाजन जानु राम्रो होइन, सम्हाल्ने काम नेतृत्वकै हो ।
श्रेष्ठले हल्ला गरिए जस्तो आफ्नो कारणले पार्टी फुटाउने काम कदापि नहुने बताए । मैले फुटाउने होइन, लेखेटे पनि यो पार्टी छोड्दिनँ, उनले भने ।
यी तीन जनाले नेतृत्व चयन प्रक्रिया नै बहिष्कार गरिरहँदा अर्का सांसद अम्मरबहादुर थापाले पनि सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेका छन् । दैलेख–१ बाट निर्वाचित सांसद थापा गत ९–१३ भदौमा सम्पन्न पदाधिकारीको चुनावपछि असन्तुष्ट बनेका हुन् ।
उपमहासचिव पदमा उम्मेदवार बनेका थापाले हारेपछि नेतृत्वलाई दोष दिइरहेका छन् । सार्वजनिक रुपमै आफूलाई हराइएकाले सांसदको भूमिकामा मात्र रहने प्रतिक्रिया दिइरहेका छन् ।
अर्थात् दशौं राष्ट्रिय महाधिवेशनपछि पार्टी निर्माणमा जुट्ने भनिरहेको एकीकृत समाजवादीलाई आफ्नै सांसद जोगाउन कठिन देखिएको छ । यद्यपि यस्तो संकट एकीकृत समाजवादीमा भर्खरै आएको भने होइन ।
आमचुनाव–२०७९ मा ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउन नसकेपछि एकीकृत समाजवादीमा विभाजनको भय निरन्तर छ । गत वैशाख तेस्रो साता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा, नेपाल विभाजन हुँदा त एकीकृत समाजवादीका नेताहरु देखिनेगरी अत्तालिएका थिए ।
जसपा नेपाल फुटेको भोलिपल्टै, गत २४ वैशाखमा माधवकुमार नेपालले संसदीय दलको बैठक राखेर सांसदहरुलाई फकाएका थिए । त्यसपछि प्रमुख सचेतक मेटमणि चौधरीले सार्वजनिक बक्तव्य जारी गरेरै संसदीय दल एकताबद्ध रहेको सन्देश दिएका थिए ।
संसदीय दलक सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्दछु, बक्तव्यमा भनिएको थियो ।
पार्टी विभाजनको नेतृत्व गर्नसक्ने प्रचार चिर्न सम्मानित नेता झलनाथ खनालले पनि बक्तव्य जारी गरेका थिए । पूर्वप्रधानमन्त्री खनालले ६ जना सांसदहरु लिएर आफूले पार्टी फुटाउन लागेको भन्ने प्रचार गलत भएको प्रष्टोक्ति दिएका थिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल