Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल समेत भएका थिए । केही मिडियाले समेत त्यसको सत्य परीक्षण नगरी भ्रम बिस्तारमा सघाउ पु¥याएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी का प्रमुख दिपक थापाका अनुसार, प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात कीर्ते रहेको देखिएको छ ।
फर्जी कागज बनाएर प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएको प्रष्ट देखिएपछि प्रसाईंलाई नियन्त्रणमा लिएका छौं, थापाले भने, उनले ती विवरण सार्वजनिक गरेलगत्तै हामीले अनुसन्धान थालेका थियौं ।
थापाका अनुसार, प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेर लाजिम्पाटस्थित सीआईबी कार्यालयमा ल्याइँदैछ । उनीमाथि अब कीर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तरगतको कसुरमा अनुसन्धान सुरु हुनेछ ।
मंगलबार नै अदालतमा उपस्थित गराएर उनलाई हिरासतमा राख्न म्याद लिने प्रहरी तयारी छ ।
अनुसन्धानमा यस्तो छ
कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको दाबी गर्दै प्रसाईंले फैलाएको भ्रमपूर्ण तस्वीर सामाजिक सञ्जालमा शेयर भइरहेको छ । तर, उनले प्रमाण ल्याएको भन्दै स्क्रीनमा सार्वजनिक गरेको ती कागजातका कुनै पनि विवरण विश्वसनीय नरहेको अनुसन्धान अधिकृतहरुको प्रारम्भिक निष्कर्ष छ ।
प्रारम्भिक जाँचमै उनले सार्वजनिक गरेको विवरण फर्जी जस्तो देखिएपछि सीआईबी र त्यसअन्तरगतको साइबर ब्यूरोले चासो देखाएको एक अधिकृतले बताए । प्रहरी अधिकृतहरुका अनुसार, प्रसाईंले प्रमाण भन्दै सार्वजनिक गरेको तस्वीरमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर समेत फर्जी देखिएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयबाट प्राप्त उनको नागरिकता प्रमाण पत्रमा उल्लेखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन । नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ ।
तर, प्रसाईंले सार्वजनिक गरेको कागजातमा अंग्रेजी रोमनमा उल्लेख गरिएको छ ।
हामीले पनि त्यो विवरण हेरेर धेरै विषयहरु शंकास्पद पाएका छौंं, एक प्रहरी अधिकृतले थपे, प्रसाईंले गुगलबाट प्रमाणित गरेर ल्याएको भने पनि गुगल सर्च इञ्जिन भएकाले तेस्रो स्रोतका विवरणहरु पनि आउँछन् र त्यसलाई गुगलले भेरिफाइ गर्ने भन्ने नै हुँदैन ।
प्रहरीले प्रसाईंले ल्याएका विवरण कहाँबाट,ओरिजिनेट, भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ ।
प्रसाईंले नेपालका नेताहरुको पैसा कम्बोडिया, मंगोलिया, तुर्केमिनिस्तान, दक्षिण अफ्रिका, केन्या, दुबई र सिंगापुरमा छ’ भन्ने अभिव्यक्ति समेत दिएका थिए । ती विषयमा समेत उनीसँग सोधपुछ गरिने प्रहरीले जनाएको छ ।
प्रसाईंले यसअघि पनि ओलीमाथि कम्बोडियामा लगानी रहेको भन्दै आरोप लगाउँदै आएका थिए । र, प्रमाणविनै मिथ्या अभिव्यक्ति दिएको आरोप लाग्दै आएको थियो । यसपटक भने उनले आफ्नो विगतका अभिव्यक्ति पुष्टि गर्ने भन्दै युट्युबरहरुलाई बोलाएका थिए ।
पोखरामा १३ कात्तिकमा आयोजित एमाले गण्डकी प्रदेशको कार्यक्रममा ओलीले व्यंग्यात्मक रुपमा आफूमाथि लगाइएको आरोपको प्रतिवाद समेत गरेका थिए ।
कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु’, उनले भनेका थिए, देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुहोस्, धेरै त छैन, एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल
२०८१ मंसिर १८
ताजा नेपाल