Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रसाईंले भने, कम्बोडिया वाला कागजात मैले बनाएको होइन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्। कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएको र सोही आधारमा आफूले बोलेको प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंले लिएको बयानमा भनेका हुन्। एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए। खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए। त्यसो भए तपाईसँग के प्रमाण छ भनि उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली बिजनेश फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए, प्रसाईंले बयानमा भनेका छन्, त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा उनले पठाइदिए। यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन। प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार साढे ७ वर्षसम्मको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार सजाय र दोहोर्‍याएर पुनस् सोही अपराध गरेको भन्दै डेढी सजायको माग गरेको थियो। त्यसो हुँदा अधिकतम सजाय भएमा उनलाई साढे ७ सम्म हुन सक्नेछ। प्रसाईंविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरेको थियो। केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ। उनले व्यावसायीलाई धक्याउनका लागि भारतमा नेपाली परिचालन गरेर रकम माग गर्न लगाएको आरोप थियो। त्यसमा एक जना नेपाली पक्राउ परेसँगै घटनामा प्रसाईंको संलग्नता खुलेको थियो। प्रसाईं गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।