Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दाताबाट उठाएको चन्दा रवि लामिछाने फाउन्डेसनबाट निकिताको खातामा

  • कालिकोटको रास्कोटमा अस्पताल बनाउँदा ऋण लागेको भन्दै रवि लामिछाने फाउन्डेसनले तीन तहका सरकारबाट लियो ५ करोड ५२ लाख
  • कोभिड महामारीपछि अर्थतन्त्र संकटमा जान लागेको भन्दै आईएमएफबाट कडा सर्तसहित ल्याइएको ऋण रकमान्तर गरेर फाउन्डेसनलाई निकासा

काठमाडौँ/कालिकोट — सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेले परोपकारका नाममा पनि ठगी गरेको खुलासा भएको छ । कालिकोटको रास्कोटमा अस्पताल बनाउने भन्दै आफ्नै नाममा फाउन्डेसन खोलेका लामिछानेले सार्वजनिक अपिल गरेर रकम संकलन गरेका थिए ।

दाताले करोडौं रुपैयाँ दिँदा पनि उल्टै ऋण लागेको भन्दै उनले तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान लिएका थिए । तर, फाउन्डेसनको रकम पत्नी निकिताको खातामा सारिएको भेटिएको छ ।

रवि लामिछाने फाउन्डेसनका नाममा दाता र राज्यमाथि भएको धोका र ठगीका विस्तृत विवरण खुलाउने दस्ताबेज कान्तिपुरले प्राप्त गरेको छ । फाउन्डेसनले समाजकल्याण परिषद्मा बुझाएको लेखापरीक्षण प्रतिवेदन, फाउन्डेसनलाई ऋण लागेको भन्दै लामिछानेले सरकारलाई पटकपटक लेखेका पत्र, सरकारबाट निकासा भएको रकमबारे महालेखा नियन्त्रक कार्यालयमा अभिलिखित भुक्तानी विवरण र प्राइम बैंकमा रहेको फाउन्डेसनको खाताबाट सिद्धार्थ बैंकमा रहेको निकिता पौडेलको व्यक्तिगत खातामा सारिएको रकमको बैंक स्टेटमेन्टसहितका दस्ताबेजबाट पुष्टि हुन्छ– लामिछानेले परोपकारका नाममा जम्मा गरेको चन्दा मात्र होइन, राष्ट्रिय ढुकुटीको बजेट पनि अपचलन गरेका छन् ।

कर्णालीका विपन्न जनताको उपचारका नाममा हारगुहार गरेर जम्मा गरिएको रकम लामिछानेले रेस्टुरेन्टका बिल तिर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका प्रयोजनमा आफ्नै तजबिजमा खर्च गरेको भेटिएको छ । फाउन्डेसनको प्राइम बैंकमा रहेको खाताबाट कम्तीमा दुई पटक गरी ४० लाख रुपैयाँ लामिछानेकी पत्नी निकिताको नाममा सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा सारिएको बैंक स्टेटमेन्टबाट पुष्टि हुन्छ । फाउन्डेसनको खाताबाट १९ नोभेम्बर २०२१ (२०७८ मंसिर ३) मा २० लाख रुपैयाँ र १३ जुन २०२२ (२०७९ जेठ ३०) मा २० लाख रुपैयाँ निकिताको व्यक्तिगत बैंक खातामा सारिएको देखिन्छ । कान्तिपुर दैनिकबाट