Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँ छिन् अञ्जला कोइराला

अञ्जला कोइराला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् । अञ्जालसहितका आरोपितको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

नेकपा ९एमाले०का नेता तथा संघीय सांसद पोखरेलले अञ्जला निर्दोष रहेको जिकिर गर्दै आएका थिए । उनले आफ्नी पत्नी विराटनगरस्थित घरमै रहेको केही दिनअघि एउटा सञ्चारमाध्यमलाई बताएका थिए । अञ्जलालाई सहकारीमा ऋण लगानी गरेको आरएसडीसी लघुवित्त संस्थाले कालोसूचीमा राखेको छ ।

अञ्जला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा पर्नसाथ उनले ०७८ माघ ५ गते पदबाट राजीनामा दिएकी थिइन् ।

उनी विराटनगरस्थित महेन्द्र रात्रि माध्यमिक विद्यालयकी शिक्षक पनि हुन् । पछिल्लोपटक उनले विद्यालयमा पाँच दिनका निम्ति बिदा लेखेकी थिइन् । त्यसपछि उनलाई बाहिर कतै सार्वजनिक रूपमा देखिएको छैन ।

अञ्जलाको बिदा थप गरिदिन भन्दै पोखरेलले केही दिनअघि प्रधानाध्यापकलाई टेलिफोन गरेका थिए । अञ्जलाले भइपरी आउने बिदा दिलाइदिन भन्दै केहीअघि विद्यालयसँग आग्रह गरेकी थिइन् ।

उनले शिक्षणबापत सरकारी विद्यालयबाट मासिक तलब बुझ्दै आएकी छन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाको अभिलेखमा उनले तलब बुझेको विवरण देखिन्छ । ३५ दिने समय कटाएर अदालतमा उपस्थित हुने मनसायसाथ उनी लुकेर बसेको हुन सक्ने सहकारीपीडितको अनुमान छ ।

सांसद पोखरेलकै अगुवाइमा उमागौरी सहकारी खोलिएको थियो । त्यसमा उनले श्रीमतीलाई सञ्चालक बनाए । सहकारी ठगी प्रकरणपछि कोसी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अनुसन्धान गरेको थियो । उक्त कार्यालयले अञ्जलाको नाम हटाएर प्रतिवेदन बनाएको थियो । तर, पछि प्राप्त कागजात र पीडितको उजुरीका आधारमा प्रहरी अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि मुद्दामा प्रतिवादी बनाइएको छ ।

महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात संकलन गरी सहकारीका पदाधिकारी र सञ्चालकले नबिल बैंकबाट ऋण निकालेका देखिएको छ । थोरै सदस्यलाई मात्र त्यो ऋण प्रवाह गरी बाँकी रकम सञ्चालकले आफैँ प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ऋणीबाट सहकारीमा प्राप्त किस्ताबापतको रकम समेत बैंकमा दाखिला नगरेको देखिएको छ ।

उमागौरीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको दाबीसहित अदालतमा अभियोगपत्र दायर गरिएको छ । प्रतिवादीलाई बिगो कायम गरी ६ देखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोगपत्रमा छ ।

सहकारीसम्बद्ध २६ जनाविरुद्ध गएको मंसिर २७ गते मुद्दा दायर गरिएको थियो । मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका एक सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका निम्ति थुनामा पठाइसकेको छ । उनी धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हुन् ।

यो प्रकरणमा सहकारी रजिस्ट्रार कार्यालयले प्रतिवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।