Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शिवरात्रिमा अवाञ्छित गतिबिधि रोक्न ४ हजार बढी सुरक्षाकर्मी

काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलामा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गरेर उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना बनाएको छ ।

फागुन १४ मा शिवरात्रि पर्व मनाइँदै छ । फागुन १३ बाट नै प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।

काठमाडौँको पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले सुरक्षा कमाण्ड गर्नेछन् । एसपीको कमाण्डमा मंगलबारदेखि नै प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, पशुपति क्षेत्रमा ४ हजार २ सयभन्दा बढी प्रहरी परिचाल गर्ने गरी सुरक्षा योजना लागु गरेका छौँ

सुरक्षा व्यवस्थापन चुस्त बनाउन प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा कमाण्ड पोस्ट तयार गरेको छ । कमाण्ड पोस्टबाट एसपी बोहरा सहित, ३ जना डीएसपी र ४ जना इन्स्पेक्टरले मनिटर गर्नेछन् ।

चोरी, डकैती र झडपका घटना रोक्न डीएसपीको नेतृत्वमा ४० जना सादा पोसाकका प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । शिवरात्रि अवधिभर ३ सिफ्टमा प्रहरी परिचालिन हुनेछन् । चारवटा वाकथ्रु गेटमा प्राविधिक सहितका सुरक्षाकर्मी खटिने छन् ।

प्रहरीले सुरक्षाको लागी मेटल डिटेक्टर र ड्रोन क्यामेरा प्रयोग गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्, अवाञ्छित गतिविधि रोक्न ड्रोनबाट निगरानी गर्छौँ ।

अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा ७ जना डीएसपीलाई शिवरात्रि अवधिभर परिचालन गर्ने सुरक्षा योजना उपत्यका प्रहरी कार्यालयले स्वीकृत गरेको छ । मेला अवधिभर ८९ जना इन्स्पेक्टर परिचालिन हुनेछन् ।