Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ठूलालाई चैन, सानालाई ऐन त्यसै भनिएको होइन । राजा फर्काउने भन्दै आन्दोलनमा होमिएका राप्रपाका नेताहरुलाई रातारात निकालेर उनीहरुकै उक्साहटमा ढुंगामुढा गर्नेलाई कारबाही गर्ने तारतम्य मिलाइएको छ । सरकारले राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्नेबारे परामर्श गरेको छ । तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँ पक्राउ परिसकेको सन्दर्भमा कांग्रेस र एमालेको शीर्ष नेतृत्व पनि राणा र मिश्रलाई रिहा गर्ने पक्षमा देखिएपछि गृह मन्त्रालयले सोही अनुसार छलफल गरेको हो । गृहमन्त्री रमेश लेखकले शनिबार साँझै प्रहरी प्रमुखसहित रानीपोखरी र परिसरकार उच्च प्रहरी अधिकारीहरुलाई छलफलका लागि बोलाएका थिए । तर, त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएका कारण स्थगित भएको एक उच्च अधिकारीले बताए । सभापति देउवा राप्रपाका नेताद्वयलाई प्रक्रिया मिलाएर रिहा गर्ने पक्षमा छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा गरिसकेकाले नै इन्कारी बयान गराएर हाजिरी जमानीमा रिहा गर्ने संकेत आएको ती अधिकारीले नेपाल प्रेसलाई बताए ।
चैत १५ गते साँझ पक्राउ परेका राणा र मिश्रसँग प्रहरीले अहिलेसम्म बयान लिएको छैन । उनीहरूलाई म्याद थप गर्दै राखिएको छ । उच्च राजनीतिक नेतृत्वबाट कस्तो आदेश आउँछ सोही अनुसार बयान हुने भएकाले पनि प्रहरीले माथिको संकेत पर्खेको छ । यद्यपि, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी अनुसन्धानको म्यादअगावै मुद्दा बुझाउने सुरसार नभएको बताउँछन् । अनुसन्धान गर्ने ६० दिनको म्याद बाँकी छ, त्यसैले बयान गराइएको छैन, उनले भने । छिटै छुटाउनुपर्ने वा मुद्दालाई विषयान्तर गर्नुपर्नेजस्ता दबाब नआएको भन्दै उनले प्रक्रियासंगत रुपमा मुद्दा अगाडि बढाइने बताए । राणा प्रतिनिधिसभा सदस्य समेत रहेका र परराष्ट्र मन्त्री आरजु राणाका पारिवारिक नातेदार समेत रहेकाले दोहोरो दबाब परेको बताइन्छ । प्रधानमन्त्रीलाई धवल शमसेरकी पत्नी प्रतिमा राजे सिन्धिया (राणा)ले अंग्रेजीमा लामो पत्र लेखेर पतिको रिहाइको लागि आग्रह गरेको बताइन्छ । उनी ग्वालियरकी राजकुमारीसमेत भएकाले धवलको लागि बाह्य आग्रहसमेत बढेको छ । पशुपति शसमेरको ससुराली र धवलको ससुराली एकै दरबार अर्थात मध्यप्रदेशको ग्वालियर हो । ग्वालियरकै राजकुमार ज्योतिरादित्य सिन्धिया अहिले नरेन्द्र मोदी सरकारको मन्त्री छन् । धवलकी छोरी शिवाङ्गिनी राणाले भारतीय मिडियाहरुमा आफ्नो पिताको रिहाईको अपिल गरेको र राणा भारतीय दामाद (ज्वाइँ) रहेको विषय अहिले हेडलाइन बनिरहेको छ । धवलकी सासू मद्मा राजे सिन्धिया ग्वालियरका अन्तिम राजा जिवाजीराव सिन्धियाकी जेठी छोरी हुन् । उनकी आमा बिजयाराजे सिन्धिया हालको भारतको सत्तारुढ दल भाजपाकी एक संस्थापक सदस्य हुन् । टाइम्स अफ इण्डियाका अनुसार बिजयाराजेका ४ छोरीमध्ये एक उषाराजे पशुपति शमसेर जबराकी पत्नी हुन् भने अर्की बसुन्धरा राजे सिन्धिया राजस्थानकी पूर्व मुख्यमन्त्री तथा बिजेपीकी प्रभावशाली नेता हुन् । अर्की छोरी यशोदाराजे सिन्धिया पनि बिजेपीबाट मन्त्री बनेकी थिइन् । राजामाताका एकमात्र छोरा माधवराव सिन्धियाका छोरा ज्योतिरादित्य सिन्धिया धवल र पशुपतिका भदाहा सालो हुन् ।
२०८२ बैशाख २
ताजा नेपाल
२०८२ बैशाख २
ताजा नेपाल
२०८२ बैशाख २
ताजा नेपाल