Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो भागको गल्तीमा विष्णु पौडेलले मागे क्षमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जेनजी आन्दोलनका क्रममा भएका गल्तीप्रति व्यक्तिगत रूपमा माफी मागेका छन्। संविधान दिवसका अवसरमा आज असोज ३ गते पार्टी र पद उल्लेख नगरिएको वक्तव्य जारी गर्दै एमालेले गरेका निर्णय र कामले निम्त्याएका परिणामका लागि व्यक्तिगत रूपमा क्षमा याचना गरेका हुन्। जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्। तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ, पौडेलले वक्तव्यमा भनेका छन्, विगतमा नेकपा एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ। व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु। यसैगरी उनले अब पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने अपेक्षा पनि गरेका छन्। निवर्तमान अर्थमन्त्री पौडेलले लेखेका छन्, अब हाम्रोसामु जनतासँग विशेषगरी नयाँ पुस्तासंग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ। तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु। आफ्नो आधिकारिक फेसबुकमार्फत पौडेलले सार्वजनिक गरेको वक्तव्यको पूर्णपाठ यस्तो छ–

संविधान दिवसको शुभकामना
जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरूमा समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

सम्माननीय प्रधानमन्त्री सुशीला कार्किको नेतृत्वमा गठित मन्त्रिपरिषद्‌बाट शान्ति र अमनचैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेनजी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजी क्षेत्रका संरचनाहरूको पुनर्निर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्नेजस्ता महत्त्वपूर्ण अभिभारा पूरा हुन सकून् भन्ने अपेक्षा गर्दछ।

जेनजी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न, दोषीहरूलाई कानुनबमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाहरूको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गर्दछु।

जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्। तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ।

विगतमा नेकपा एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ। व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु।

अब हाम्रोसामु जनतासँग विशेषगरी नयाँ पुस्तासंग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ। तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु।

आज असौज ३ गते, संविधान दिवसको ऐतिहासिक दिन। विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिन सकौँ। आपसी सद्‌भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सकौँ। सबैमा संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

विष्णुप्रसाद पौडेल


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल