Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हेज्बोल्लाहविरुद्ध फेरि युद्ध गर्न खोज्दै इजरायल

काठमाडौं । गत साता इजरायली सेनाले दक्षिणी लेबननमा हेज्बोल्लाह समूहको पूर्वाधारमा शृंखलाबद्ध आक्रमण गरेपछि पश्चिम एसिया फेरि अशान्तिको भुमरीमा पर्ने संकेत पाइएको छ ।

हेज्बोल्लाह लडाकुहरूको हतियार भण्डार, कमान्ड सेन्टर र सञ्चार प्रणालीलाई निशाना बनाउनका लागि उक्त आक्रमण गरिएको इजरायलको भनाइ छ ।

पोहोर साल इजरायल र हेज्बोल्लाहबीच भएको युद्धविराम सम्झौतापछि इजरायलले पहिलोपटक गरेको यस आक्रमणले उक्त युद्धविरामको आधार कमजोर रहेको स्पष्ट पारेको छ ।

अहिलेको स्थितिलाई असहज शान्तिका रूपमा विश्लेषकहरूले चित्रण गरेका छन् । इजरायल र हेज्बोल्लाह दुवैले आफ्नो युद्धक्षमतालाई तिखारेर भविष्यमा शान्ति भंग भएको खण्डमा निर्णायक आक्रमणका लागि तयारी गरिरहेको देखिन्छ । त्यो आक्रमण इजरायल र लेबननको सीमावर्ती क्षेत्रमा सीमित रहन्छ कि पश्चिम एसियामा फैलिन्छ, अहिल्यै भन्न सकिन्न ।

युद्धविरामपछि विशाल स्तरमा हिंसा नहुनुलाई आपसी विश्वासमा अडिएको शान्ति भन्दा पनि दुवै पक्षको थकानका रूपमा लिनुपर्ने जियोपोलिटिकल मोनिटरमा प्रकाशित लेख ‘इजरायली हेज्बोल्लाह स्ट्राइक्स टुवर्ड ए न्यु कन्फ्लिक्ट मा डा मोहम्मद एलदोहले तर्क गरेका छन् ।

पोहोर साल इजरायलले गोप्य कारवाही गरेर हेज्बोल्लाहका शीर्ष नेताहरूको सफाया गरेपछि उक्त समूह कमजोर बनेको थियो । तर, इरानको समर्थन पाएको हेज्बोल्लाहले भित्रभित्रै आफ्नो युद्ध संरचनाको पुनर्निर्माण गरिरहेको छ । विशेषगरी उसले छोटो र मध्यम दूरीका रकेटहरू सिरियाबाट ल्याइरहेको अनि आफैंले पनि उत्पादन गरिरहेको बताइन्छ ।

इजरायलले यस घटनाक्रमलाई आफ्नो लक्ष्मणरेखाको उल्लंघनका रूपमा लिएर हेज्बोल्लाहमाथि आक्रमण गरेको जेएनएस डट् ओआरजीमा प्रकाशित लेख ‘टेन्सन्स फ्लेयर अन इजरायल्स नर्दन बोर्डर याज हेज्बोल्लाह रिबिल्ड्स इटसेल्फ मा शिमोन शेरम्यानले तर्क गरेका छन् ।

इजरायलले दक्षिणी लेबननमा विकसित हुँदै गरेको जोखिमलाई बेवास्ता गर्न सक्दैन । इजरायलका वरिष्ठ अधिकारीहरूले संयुक्त राष्ट्रसंघको पारित प्रस्ताव १७०१ बमोजिम हेज्बोल्लाहलाई दक्षिणी लेबननमा निःशस्त्रीकरण गराउनुपर्ने भनी बारम्बार भन्ने गरेको रोयटर्स समाचार संस्थामा ताला रमादानले लेखेका छन्

हेज्बोल्लाह कुनै हालतमा पनि इजरायलसँग सम्झौता गर्न हुँदैन भन्छ । सरकारभन्दा बढी प्रभावशाली भएकाले लेबननमा हेज्बोल्लाहकै हैकम चल्छ

तर, लेबनन सरकार कमजोर भएकाले समस्या निम्तिएको हो । सरकारले हेज्बोल्लाहलाई देशको दक्षिणी भागमा रहेको उसकै आधारक्षेत्रमा चुनौती दिन सक्दैन । हेज्बोल्लाहलाई निःशस्त्रीकरण गर्न बेरुतले प्रयास गरेमा देश गृहयुद्धमा जाने सम्भावना रहेको रोयटर्समा माया गेबिली र मायन लुबेल लेख्छन् । इजरायलले आग्रह गरेबमोजिम लेबननका सैन्य अधिकृतहरूले घरघरमा हतियारको खोजी गर्नका लागि कारवाही चलाउन चाहेका छैनन् किनकि त्यसले अस्थिरता निम्त्याउन सक्ने उनीहरूलाई डर छ ।

अमेरिकाले लेबननलाई इजरायलसँग दीर्घकालीन शान्ति सम्झौता गर्न र सीमाविवाद हल गर्नका लागि आग्रह गरेको छ । राष्ट्रपति जोसेफ अउन त्यसका लागि तयार भएको बुझिन्छ । तर, हेज्बोल्लाह कुनै हालतमा पनि इजरायलसँग सम्झौता गर्न हुँदैन भन्छ । सरकारभन्दा बढी प्रभावशाली भएकाले लेबननमा हेज्बोल्लाहकै हैकम चल्छ ।

यसरी लेबनन सरकारले हेज्बोल्लाह व्यवस्थापन नगरेपछि आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि एकपक्षीय कारवाही गर्नुपर्ने निष्कर्षमा इजरायल पुगेको देखिन्छ ।

केही दिनअघि लेबननको सेनाले हेज्बोल्लाहका हतियारहरू बरामद गरेको खबर आएको थियो । विभिन्न उपत्यका र जंगलहरूमा खोजी कारवाही चलाएर लेबनन सेनाले ५० भन्दा बढी सुरुङ पत्ता लगाएको थियो र ५० भन्दा बढी निर्देशित क्षेप्यास्त्रका साथै सयौं अन्य हतियारहरू बरामद गरेको थियो ।

सेनाले सन् २०२५ को अन्त्यसम्ममा लेबननको दक्षिणी भागलाई हेज्बोल्लाहको हतियारबाट मुक्त पार्ने आत्मविश्वास व्यक्त गरेको भए पनि लेबनन राज्य हेज्बोल्लाहभन्दा कमजोर रहेकाले आफैं कारवाही गर्न इजरायल उद्यत देखिएको हो ।

हेज्बोल्लाहका सम्बन्धमा इजरायलले निवारण डिटरेन्स का साथै विनाश डिस्ट्रक्शन को रणनीति अपनाइरहेको मिलिटरी स्ट्राटेजी म्यागजिनमा प्रकाशित लेख ‘वार अन द नर्दन फ्रन्ट मा ईडो हेक्ट लेख्छन् । छानिएका निशानामा सटीक आक्रमण गरेर इजरायलले पूर्ण युद्ध नगरिकनै हेज्बोल्लाहलाई निवारण गर्ने सोच बनाएको हो ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल