Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले पार्टीमा समानन्तर गतिविधि अगाडि बढाएको छ। विशेष र नियमित महाधिवेशनको पक्षमा विभाजित कांग्रेस नेताहरूको राजनीतिक गतिविधि पनि भिन्नाभिन्नै ढंगले अगाडि बढेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइरालाको उपस्थितिमा आज नवनिर्वाचित सांसदका लागि बधाई कार्यक्रम राखिएको छ। सोमबार दिउँसो १ बजे महाराजगञ्जको स्मार्ट होटलमा कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई देउवा– कोइराला पक्षले बधाई कार्यक्रम राखेको हो। पार्टीका वरिष्ठ नेताहरूले नव निर्वाचित सांसदलाई बधाई दिनका लागि कार्यक्रम आयोजना गरिएको सांसद निस्कल राईले बताए। कांग्रेस सांसद गीता गुरुङले पनि बधाई कार्यक्रममा खड्का र कोइराला उपस्थिति हुने बताइन्। गत शनिबार कांग्रेसले पार्टी कार्यालय सानेपामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो। सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरेले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाईका साथै अभीमुखीकरण तालिम दिएका थिए। त्यसलाई काउन्टर हुने गरी खड्का र कोइराला पक्षले आज बधाई कार्यक्रम राखेको हो। सोही होटलमा देउवा–कोइराला समूहले मंगलबार दिउँसो १ बजे १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि बोलाएको छ। बैठकमा पछिल्लो राजनीतिक, सरकारको धरपकड र चुनावी परिणामको समीक्षा हुने राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले जानकारी दिए। गत शनिबार बिहान एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए। ‘कार्यवाहक सभापति’का रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयलाई कांग्रेसको संस्थापन पक्षले पार्टीको मर्यादा र अनुशासन उल्लंघनको रूपमा लिएको छ। गत पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई खेमामा विभाजित भएको छ। विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यस रिटमा चैत २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको छ। गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा थापाको नेतृत्व स्वीकारेको देउवा– कोइराला समूहले अहिले समान्तर गतिविधि अगाडि बढाएको संस्थापन पक्षको आरोप छ। देउवा– कोइराला समूहका नेता पनि गगन थापाले हस्तक्षर गरेको टिकटमा चुनाव लडेका थिए। देउवा र शेखर कोइराला समूहले केही दिनअघि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यासम्पादन समितिको नाममा बैठक गरेको थियो। कार्यवाहक सभापतिको नाममा खड्काले गतिविधि अगाडि बढाएपछि कांग्रेसको संस्थापन पक्ष कारबाही गर्ने तयारीमा देखिन्छ। कांग्रेसले चैत १८ गते अनुशासन समितिको जरुरी बैठक बोलाएको छ। कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले फागुन २१ को निर्वाचनमा भएको अन्तर्घात र समानन्तर गतिविधिबारे छलफल गर्न बैठक बोलाइएको नेपालखबारलाई बताए। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले समानान्तर गतिविधि गरे पार्टी विधि र विधानअनुसार अगाडि बढ्ने बताए। कांग्रेसभित्र रहने भए सबै नेता–कार्यकर्ताले पार्टी विधि विधान मान्नै पर्ने उनको भनाइ छ। देउवा– कोइराला पक्षले भने संस्थापन पक्षको कारबाहीको धम्कीलाई चुनौती दिएको छ। १४ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला यही चैत १९ गते बोलाउने देउवा– कोइराला पक्षको तयारी छ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल