Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले अब नयाँ गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।
हाल गृहमन्त्रालय आफैंले सम्हालिरहेका प्रधानमन्त्री शाहले आफ्ना निकट सांसदलाई जिम्मेवारी दिने कि सभापति रवि लामिछाने पक्षका व्यक्तिलाई अघि सार्ने भन्ने अझै स्पष्ट भइसकेको छैन।
यसअघि बालेनको सिफारिसमा गृहमन्त्री बनेका सुधन गुरुङ विवादित व्यवसायी दीपक भट्टसँगको सेयर लगानी तथा अन्य विवादमा मुछिएपछि पदबाट बाहिरिएका हुन्।
गुरुङले बालेन र रविबीच समन्वयमा भूमिका खेलेको मानिए पनि उनको राजीनामापछि नयाँ गृहमन्त्रीका लागि तीन–चार जनाको नाम चर्चामा आएको छ।
बालेन पक्षबाट काठमाडौँ महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएर सांसद बनेका राजुनाथ पाण्डेको नाम अगाडि आएको छ। त्यस्तै, पूर्वएआईजीपी विश्वराज पोखरेल र रवि पक्षका दीपक बोहराको नाम पनि चर्चामा छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेनले पोखरेल वा पाण्डेमध्ये कसैलाई प्राथमिकता दिन सक्ने अनुमान छ। यद्यपि, प्रधानमन्त्रीको सचिवालयले भने यसबारे कुनै औपचारिक छलफल नभएको जनाएको छ।
पूर्वएआईजीपी पोखरेललाई कडा स्वभावका अधिकारीका रूपमा चिनिन्छ, जसले बालेन र रवि दुवै पक्षसँग विश्वासको सम्बन्ध राख्ने बताइन्छ। अर्कोतर्फ, पाण्डे काठमाडौँ महानगरमा प्रहरी प्रमुख रहँदा बालेनका निकट मानिन्थे।
रवि लामिछानेका विश्वासपात्र मानिने दीपक बोहरा टेलिभिजन पत्रकारिताबाट उदाएका हुन् र कञ्चनपुरबाट निर्वाचित सांसद हुन्।
यसअघि गृहमन्त्री नियुक्त गर्दा रविले आफ्ना निकट सहयोगी डिपी अर्याललाई अघि सारेका थिए। तर अन्ततः बालेनको सहमतिमा गुरुङलाई जिम्मेवारी दिइएको थियो।
रास्वपाले भने नयाँ गृहमन्त्री चयन हतारमा नगर्ने जनाएको छ। तर सरकारको प्रभावकारी सञ्चालनका लागि छिट्टै नयाँ गृहमन्त्री नियुक्त हुने अपेक्षा गरिएको छ।
बालुवाटार स्रोतका अनुसार आगामी केही दिनमै नयाँ गृहमन्त्री टुंगो लाग्ने सम्भावना छ।
यसबीच, पछिल्ला २६ दिनमा सरकारबाट दुई मन्त्री बाहिरिएका छन्, जसले सरकारभित्रको अस्थिरता देखाएको विश्लेषण गरिएको छ।
नयाँ गृहमन्त्री चयनको अन्तिम निर्णय प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछानेबीच हुने बताइएको छ। तीन जनामध्ये विश्वराज पोखरेल, राजुनाथ पाण्डे र दीपक बोहराको नाम मुख्य रूपमा चर्चामा रहेको छ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल