Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको जनाएको छ।

आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका आवश्यकता, अपेक्षा तथा विकासका प्राथमिकतालाई समेट्ने उद्देश्यले डिजिटल प्लेटफर्म सुरु गरिएको बताइएको छ।

सरकारका अनुसार उक्त पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ र नीतिनिर्माताले बजेट तथा विकाससम्बन्धी आफ्ना सुझाव सिधै सरकारसमक्ष पेश गर्न सक्नेछन्।

दीपा दाहाल का अनुसार नीतिनिर्माण प्रक्रियालाई प्रशासनिक दायरामा मात्र सीमित नराखी नागरिकको भावना र विज्ञतालाई समेट्ने उद्देश्यले यो पहल गरिएको हो।

उनले यो प्रणालीले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापना गर्ने विश्वास व्यक्त गरेकी छन्। प्राप्त सुझावलाई प्रशासनिक तहमा गम्भीर रूपमा समीक्षा गरी नीतिगत रूपमा कार्यान्वयन गर्ने तयारी रहेको पनि उनले बताइन्।

पोर्टलमा ‘सुझाव ट्र्याक’ गर्ने सुविधा समेत राखिएको छ, जसबाट नागरिकले आफूले दिएका सुझावको अवस्था तथा सरकारले चालेका कदमबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

सरकारले सबै नेपालीलाई सक्रिय सहभागिताका साथ सुझाव दिन आग्रह गर्दै ‘समृद्ध नेपाल’ निर्माणमा रचनात्मक योगदान गर्न अपिल गरेको छ।

नागरिकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट मार्फत पोर्टल प्रयोग गरी आफ्ना सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्‍याउन सक्नेछन्।