Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि गृहमै फर्किदैछन् त सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बिहीबार एक छानबिन समिति गठन गरेको छ । गृहमन्त्री पदबाट बाहिरिएपछि गुरुङले निरन्तर रूपमा आफूमाथि निष्पक्ष छानबिन गर्न माग गर्दै आएका थिए ।

गृहमन्त्रीका रूपमा छोटो कार्यकालमै विभिन्न विवाद र प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए । छानबिन समिति गठन भएसँगै आफूले सफाइ पाउने र पुनः गृहमन्त्रीमा फर्किने अपेक्षा गुरुङले राखेको चर्चा भइरहेको छ ।

कतिपयले भने उनलाई आरोपमुक्त गरेर पुनः गृह मन्त्रालयमा फर्काउने उद्देश्यले नै सरकारले समिति गठन गरेको आशंका व्यक्त गरेका छन् । गुरुङको राजीनामापछि प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ गृहमन्त्री नियुक्त नगरी गृह मन्त्रालय आफैंसँग राखेका छन् । यसले पनि मन्त्रालय गुरुङकै लागि ‘होल्ड’ गरिएको हो कि भन्ने चर्चा सुरु भएको छ ।

बिहीबार राति संसद् बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले गुरुङसँग यसबारे प्रश्न गरेका थिए । उनले स्पष्ट जवाफ दिनुभन्दा मिडिया ट्रायल अत्यधिक भएको गुनासो गरेका थिए ।

सञ्चारकर्मीको प्रश्नमा उनले भने, “मिडियाले पनि ट्रायल गरिराख्छ, के गर्ने त ?”

पुनः गृहमन्त्री बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा गुरुङले पहिले छानबिन हुनुपर्ने बताए । “छानबिनपछि मात्रै कुरा हुन्छ । आफैं जज त हुनुभएन नि,” उनले भने ।

उनले पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्ने उल्लेख गर्दै केही सञ्चारमाध्यमले स्वतन्त्रताको नाममा भ्रम फैलाउने काम गरेको आरोपसमेत लगाए ।

छानबिनबाट सफाइ पाउनेमा आफू विश्वस्त रहेको संकेत गर्दै गुरुङले भने, “छानबिन गर्नुस् भनेको छु । म त सर्वसाधारण व्यक्ति हो । गृहमन्त्री हुनुभन्दा अघि कुनै सार्वजनिक पदमा बसेको थिइनँ । राज्यबाट पैसा लिएको छैन, बरु राज्यलाई दिएको छु ।”