Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारसँग दूरी बढेको रास्वपा मान्यकै गुनासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रीहरू र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार सभापति रवि लामिछानेले कोसी प्रदेशका सांसदहरूसँग गरेको छलफलमा सांसदहरूले सरकार र पार्टी सञ्चालनसँग सम्बन्धित विभिन्न गुनासा राखेका हुन्।

छलफलको सुरुवातमै सभापति लामिछानेले सांसदहरूलाई सरकारबारे खुलेर आफ्नो धारणा राख्न आग्रह गरेका थिए। संसद्मा सार्वजनिक रूपमा आलोचना गर्नुको सट्टा पार्टीभित्रै समस्या उठाउन उनले आग्रह गरेको बैठकमा सहभागी सांसदहरूले बताएका छन्।

सांसदहरूले मुख्यतः तीन विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। पहिलो, प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयसँग सम्पर्क र समन्वय हुन नसकेको गुनासो। जनताका समस्या र गुनासा सरकारसम्म पुर्‍याउन खोज्दा सचिवालयबाट आवश्यक प्रतिक्रिया नपाएको, भेटघाटसमेत कठिन भएको उनीहरूको भनाइ थियो। यसले जनप्रतिनिधिका रूपमा आफूहरूलाई अप्ठ्यारो परेको सांसदहरूले बताएका छन्।

दोस्रो विषय सरकार र सांसदबीच बढ्दो दूरीसँग सम्बन्धित थियो। आफ्ना निर्वाचन क्षेत्रका नागरिकले विभिन्न समस्या सुनाए पनि ती विषय सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउन नसकिएको उनीहरूको भनाइ छ। सरकारका कामकारबाही जनअपेक्षाअनुसार प्रभावकारी नदेखिएको र त्यसको बचाउ गर्न सांसदहरूलाई कठिनाइ भइरहेको उनीहरूले बताएका छन्।

छलफलमा सहभागी सांसदहरूका अनुसार पार्टी र सरकारबीच पर्याप्त तालमेल नहुँदा संसद्मा पनि पार्टीको उपस्थिति कमजोर देखिएको टिप्पणी गरिएको थियो। सरकारलाई पार्टीको नीति र निर्देशनअनुसार सञ्चालन गर्नुपर्ने धारणा पनि केही सांसदहरूले राखेका थिए।

तेस्रो विषय पार्टीको आसन्न महाधिवेशन र त्यससँग जोडिएको आन्तरिक गुटबन्दी थियो। सांसदहरूले नयाँ र पुराना नेताका नाममा वडा तहसम्म ध्रुवीकरण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जिम्मेवारी बाँडफाँट र अवसर वितरणमा असन्तुलन देखिएको तथा यसले पार्टीभित्र असन्तुष्टि बढाएको उनीहरूको भनाइ थियो।

सांसदहरूको गुनासो सुनेपछि सभापति लामिछानेले उठाइएका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने र समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सांसदहरूलाई संसद्मा सरकारविरुद्ध सार्वजनिक आलोचना नगर्न आग्रह गर्दै समस्या समाधानका लागि पार्टीभित्रै निकास खोज्ने आश्वासन दिएका थिए।

रास्वपाले सरकार र पार्टीबीचको समन्वयका विषयमा छलफल गर्न छिट्टै उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने तयारी गरेको छ। सभापति लामिछानेले सातै प्रदेशका सांसदसँग क्रमशः संवाद गर्ने कार्यक्रमसमेत अघि बढाएका छन्। रास्वपा सचेतक प्रकाशचन्द्र परियारले भने यसलाई नियमित आन्तरिक छलफलको प्रक्रिया भएको बताएका छन्।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल