Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चारित्रिक विवादमा सांसद कार्कीमाथि रास्वपाको छानबिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्ण कार्कीमाथि लागेको चारित्रिक विवादबारे पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीको अनुशासन आयोगले उनीमाथि सार्वजनिक रूपमा उठेका आरोपहरूको अध्ययन तथा सोधपुछ गरिरहेको स्रोतले जनाएको छ।

कार्कीमाथि एक विदेशी महिलासँग सम्बन्ध राखी गर्भवती बनाएपछि जिम्मेवारीबाट पन्छिएको आरोप लागेको छ। उक्त विषयलाई लिएर विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि पार्टीभित्र पनि यसबारे चासो बढेको हो। आरोपसँग सम्बन्धित समाचार सार्वजनिक भए पनि कार्कीले त्यसको स्पष्ट र विस्तृत खण्डन भने गरेका छैनन्।

रास्वपा स्रोतका अनुसार अनुशासन आयोगले कार्कीसँग प्रारम्भिक बयान लिइसकेको छ। संसदीय दलकी सचेतक क्रान्तिशीखा धितालले समेत यस विषयमा कार्कीसँग छलफल गरेकी थिइन्। सो क्रममा कार्कीले यो व्यक्तिगत प्रकृतिको विषय भएको र आफैंले समाधान गर्ने बताएका थिए।

यसअघि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कार्कीले आफूसँग नाम जोडिएकी महिला नाइजेरियन नागरिक नभएको दाबी गरेका थिए। तर आरोपको मुख्य विषय अर्थात् विदेशी महिलालाई गर्भवती बनाएको हो वा होइन भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएका छैनन्।

कार्की यसअघि पनि विभिन्न विवादमा तानिएका थिए। विशेषगरी जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनी घटनासँग उनको नाम जोडिएपछि उनी आलोचनामा परेका थिए। उनी मोरङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

रास्वपाले भने घटनाबारे औपचारिक निर्णय गरिसकेको छैन। अनुशासन आयोगले छानबिन पूरा गरी प्रतिवेदन बुझाएपछि त्यसको सिफारिसका आधारमा पार्टीको केन्द्रीय समितिले आवश्यक निर्णय लिने बताइएको छ।

आयोगको निष्कर्षले आरोप पुष्टि गरेमा कार्कीमाथि पार्टीभित्र अनुशासनात्मक कारबाही हुन सक्ने सम्भावना रहेको छ। यद्यपि अन्तिम निर्णय भने छानबिन प्रतिवेदन आएपछि मात्रै हुने रास्वपा स्रोतको भनाइ छ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल