Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको छ। बैठकमा सहभागी अधिकांश पदाधिकारीहरूले पार्टीको पुनर्गठन र रुपान्तरणका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखेका छन्।
स्रोतका अनुसार सचिवालयका करिब ८० प्रतिशत सदस्यले वर्तमान परिस्थितिमा पार्टीलाई नयाँ ढंगले अघि बढाउन अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने मत व्यक्त गरेका छन्। शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित उपमहासचिव तथा सचिवहरूले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेका थिए।
बैठकमा सचिव महेश बस्नेत भने खुलेर ओलीको पक्षमा उभिएका छन्। शनिबार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि कठिन समयमा नेतृत्वलाई साथ दिनुपर्ने तर्क गर्दै अध्यक्ष ओलीको बचाउ गरेका थिए।
एक पदाधिकारीका अनुसार सचिवालयका अधिकांश सदस्यले पार्टीभित्र देखिएको संकटको प्रमुख कारण नेतृत्व शैली रहेको निष्कर्ष निकालेका छन्। उनका अनुसार अध्यक्ष ओलीसहित उनका पक्षमा खुलेर उभिने सदस्यको संख्या निकै कम रहेको छ भने बहुमत सदस्यले पार्टीलाई नयाँ दिशा दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।
सचिव हिक्मत कार्की, पद्मा अर्याल र राजन भट्टराईलगायत नेताहरूले वर्तमान अवस्थामा तल्लो तहसम्म पार्टी सञ्चालन गर्न चुनौती देखिएको उल्लेख गर्दै नेतृत्वले परिस्थितिको गम्भीरता बुझ्नुपर्ने धारणा राखेका थिए। उनीहरूको भनाइलाई नेतृत्व हस्तान्तरणको संकेतका रूपमा बुझिएको छ।
तर अध्यक्ष ओलीले भने बैठकमा उठेका आलोचनाको प्रतिवाद गर्दै आफू निर्वाचित नेतृत्व भएकाले सहज रूपमा पद नछाड्ने स्पष्ट संकेत दिएका छन्। उनले पार्टीभित्र देखिएका समस्याको समाधान नेतृत्व परिवर्तन मात्र नभएको जिकिर गरेका छन्।
सचिवालयमा बहुमत सदस्य नेतृत्व परिवर्तनको पक्षमा देखिएपछि एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा थप चासोको विषय बनेको छ। यद्यपि अध्यक्ष ओली पद त्याग गर्ने पक्षमा नरहेको स्पष्ट पारेकाले पार्टीभित्रको बहस अझ तीव्र हुने संकेत देखिएको छ।
२०८३ जेष्ठ १०
ताजा नेपाल
२०८३ जेष्ठ १०
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल