Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ईयू देशका कूटनीतिज्ञसँग आज प्रधानमन्त्री शाहको सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे तय गरिएको भेटमा नेपाल–ईयू सम्बन्ध, विकास साझेदारी तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धको सुदृढीकरण तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान हुनेछ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले यस अवसरमा अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट तत्काल स्तरोन्नति नगरी केही समय यथावत् राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गर्नेछ। साथै, युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’बाट नेपाललाई हटाउन सहयोगका लागि पनि आग्रह गरिने तयारी छ।

भेटमा ईयूका २२ सदस्य राष्ट्रका प्रतिनिधिसहित दक्षिण–पूर्वी एसियाली मुलुकका कूटनीतिज्ञहरू गरी ३० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहको यो दोस्रो सामूहिक कूटनीतिक भेट हो। यसअघि उनले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग संयुक्त भेट गरेका थिए।

स्रोतका अनुसार आजको कार्यक्रममा प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयले तयार पारेको संक्षिप्त लिखित मन्तव्य प्रस्तुत गर्नेछन् भने सहभागी राजदूत तथा कूटनीतिज्ञहरूले पनि आफ्नो धारणा राख्नेछन्।

भेटमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रधानमन्त्रीसँगको भेटअघि सोमबार युरोपेली संघका कूटनीतिज्ञहरूले परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री सस्मित पोखरेल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उनीहरूले नागरिक समाजका प्रतिनिधिसँग पनि छलफल गरेका छन्।

युरोपेली संघको नेपालस्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ सरकारसँगको भेटघाटले नेपाल र युरोपेली संघबीचको दीर्घकालीन तथा सुदृढ सम्बन्धलाई थप पुष्टि गरेको उल्लेख गरिएको छ।


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल