Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने अधिकारक्षेत्र विशेष अदालतमा रहेको उल्लेख गर्दै अध्यादेश जारी हुनुअघि काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ गते जारी गरिएको पक्राउ पुर्जी स्वतः निष्क्रिय भएको ठहर गरेको छ।

रिट निवेदनमा देउवाले आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत पुष्टि गर्न इच्छुक रहेको तथा पक्राउ गर्नुपर्ने कुनै अवस्था नरहेको जिकिर गरेका थिए।

हाल उपचारका लागि विदेशमा रहेका देउवा बैंककबाट हङकङ पुगेका छन्। उनी पक्षले अनुसन्धान प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पक्राउ पुर्जी खारेज गर्न माग गरेको थियो।

यसअघि सरकारले देउवाविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरी इन्टरपोलमार्फत पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको चर्चा भएको थियो। सर्वोच्चको पछिल्लो अन्तरिम आदेशसँगै तत्कालका लागि पक्राउको सम्भावना टरेको छ भने मुद्दाको थप सुनुवाइबाट आगामी कानुनी प्रक्रिया तय हुनेछ।


सम्बन्धित समाचार

तत्कालका लागि टर्यो ओलीको संकट

२०८३ जेष्ठ १२

ताजा नेपाल