Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिलिङभन्दा माथिको बजेट ल्याउने तयारी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २२ खर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट ल्याउने तयारीमा जुटेका छन् । राष्ट्रिय योजना आयोगले दिएको बजेट सिलिङभन्दा करिब ३ खर्ब बढीको बजेट निर्माणको अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

राष्ट्रिय योजना आयोगअन्तर्गतको स्रोत अनुमान समितिले आगामी आवका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको सिलिङ निर्धारण गरेको थियो । चालु आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइए पनि अर्धवार्षिक समीक्षामार्फत तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले त्यसलाई घटाएर १६ खर्ब ८८ अर्बमा सीमित गरेका थिए ।

ठूलो आकारको बजेट ल्याएर पछि खर्च र स्रोत अभावका कारण कटौती गर्नुपर्ने प्रवृत्तिको आलोचना गर्दै खनालले गत माघमा “पपुलिजमका लागि ठूलो बजेट ल्याउने तर कार्यान्वयन गर्न नसक्ने अवस्था मुलुकका लागि सुखद होइन” बताएका थिए ।

तर वर्तमान अर्थमन्त्री वाग्लेले भने अनिवार्य दायित्व, कर्मचारी तलब वृद्धि र पुँजीगत खर्च विस्तारलाई आधार बनाएर ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन् । अर्थ मन्त्रालयका अनुसार आगामी वर्ष पुँजीगत खर्चमा उल्लेख्य वृद्धि गरिनेछ । चालु आवमा ४ खर्ब रुपैयाँ विनियोजन गरिएको पुँजीगत बजेटमा आगामी वर्ष करिब २ खर्ब थप्ने तयारी छ ।

सकिनै लागेका आयोजनालाई पर्याप्त बजेट उपलब्ध गराउने, स्थानीय तह जोड्ने रणनीतिक सडक विस्तार तथा मर्मत कार्यक्रमलाई प्राथमिकतामा राख्दा पुँजीगत खर्च बढाउन लागिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

यसैगरी, सरकारको अनिवार्य दायित्व पनि लगातार बढिरहेको छ । चालु आवमा १३ खर्बभन्दा माथि रहेको अनिवार्य दायित्व आगामी वर्ष साढे १४ खर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।

सरकारले आगामी बजेटमार्फत सरकारी कर्मचारी, शिक्षक लगायतको तलब १५ प्रतिशतसम्म बढाउने तयारी गरेको छ । तलब वृद्धि भएपछि पेन्सन, सामाजिक सुरक्षा तथा अन्य प्रशासनिक खर्च स्वतः बढ्ने भएकाले चालु खर्चमा थप दबाब पर्ने देखिएको छ । अर्थ मन्त्रालयका अनुसार तलब वृद्धिले मात्रै करिब ३७ अर्ब रुपैयाँ अतिरिक्त भार थपिनेछ ।

यता राजस्व संकलन भने लक्ष्यअनुसार हुन सकेको छैन । चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा जेठ दोस्रो सातासम्म १० खर्ब १२ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा लक्ष्य भेटिने सम्भावना न्यून देखिएको छ ।

वैदेशिक अनुदानतर्फ पनि सरकार अपेक्षाअनुसार सफल हुन सकेको छैन । चालु आवमा ५३ अर्ब ४४ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिए पनि हालसम्म १८ अर्ब ६३ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ ।

अर्थविद्हरूले भने स्रोत र कार्यान्वयन क्षमता नहेरी ठूलो आकारको बजेट ल्याउनु जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन् । करविज्ञ रूप खड्काका अनुसार नेपालको वार्षिक राजस्व वृद्धि सामान्य अवस्थामा १२ देखि १४ प्रतिशतसम्म मात्रै हुने गरेको छ । कर प्रशासनमा सुधार गरे अधिकतम १८–२० प्रतिशतसम्म पुग्न सक्ने भए पनि त्यसभन्दा बाहिर गएर अत्यधिक ठूलो बजेट बनाउनु उपयुक्त नहुने उनको भनाइ छ ।

डलरको भाउ बढ्दै जाँदा वैदेशिक ऋणको दायित्व पनि बढिरहेको छ । चालु आवमा मात्रै विनिमय दरका कारण करिब सवा खर्ब रुपैयाँ अतिरिक्त भार थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले स्रोत जुटाउने क्षमता र खर्च गर्ने संयन्त्र बलियो भए ठूलो बजेट ल्याउन सकिने बताए । तर ऋण बढाएर मात्रै आकार ठूलो बनाउने र त्यसले प्रतिफल नदिने अवस्था आए भविष्यका पुस्ताले समेत त्यसको मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ ।


सम्बन्धित समाचार

इजरायलले २३ सय नेपाली कामदार लैजाने

२०८३ जेष्ठ १३

ताजा नेपाल

वाइसिएल बोलेपछि हर्क थचक्कै

२०८३ जेष्ठ १३

ताजा नेपाल

वंशवादमा रमाउने काँग्रेसमा तमासा

२०८३ जेष्ठ १३

ताजा नेपाल