Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बजेटपछि प्रधानमन्त्री बालेनको छोटो सन्देश: ‘ढुक्क हुनुस्’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत छोटो प्रतिक्रिया दिएका छन्। उनले शुक्रबार राति आफ्नो फेसबुकमा ‘ढुक्क हुनुस्’ लेख्दै बजेटप्रति विश्वास व्यक्त गरेका हुन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेपछि प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो। केवल दुई शब्दको सन्देशमार्फत उनले सरकारका निर्णय र बजेट कार्यान्वयनप्रति नागरिकलाई आश्वस्त पार्न खोजेको अनुमान गरिएको छ।

हालै सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले आलोचना गरिरहेका बेला प्रधानमन्त्री बालेन भने बजेट प्रस्तुत गरिने संयुक्त बैठकमा सहभागी भएका थिए।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। यो उनको अर्थमन्त्रीका रूपमा पहिलो बजेट हो।

कुल बजेटमध्ये चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै, पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) छुट्याइएको छ।

सरकारका अनुसार यो बजेट चालू आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

सरकारले उच्च आर्थिक वृद्धि, पूर्वाधार विकास, रोजगारी सिर्जना र निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ।