Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपा फुटको सघारमा लिङ्देन छोडेर प्रसाईंको लाइनमा जोडिदै धवलशम्शेर गुरुप

काठमाडौं । देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा विभाजनको डिलमा पुगेको छ । विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै महामन्त्री डा.धवलशम्शेर राणा नेतृत्वको समूह पार्टीबाट बाहिरिने अन्तिम तयारीमा जुटेको हो ।

राप्रपाभित्र लामो समयदेखि दुई लाइनको अन्तरसंघर्ष चल्दै आएको थियो । संस्थापन इतर समूहको नेतृत्व राणाले गर्दै आएका थिए । यही अन्तरसंघर्षको अन्ततः दुखद पटाक्षेप हुन लागेको छ । आगामी जेठ १८ गते होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा घोषणा गर्ने तयारी नेताहरुले गरेका छन् । सामूहिक राजीनामाको ड्राफ्ट पनि तयार भइसकेको छ ।

राणा समूहले पार्टी सञ्चालनमा नेतृत्वले चरम स्वेच्छाचारिताको प्रदर्शन गर्दै आएको तथा पार्टीको आधारभूत मान्यता र एजेन्डाहरुबाट विचलित बनेको आरोप लगाएको छ ।

राजीनामाको मस्यौदामा भनिएको छ, जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सबै नामेट पार्ने मनोवृत्ति नेतृत्वको देखियो । राजसंस्था पुनस्र्थापनका आन्दोलनहरु तुहाउन मुल अगूवा नै अग्रसर भए । संसदमा सैद्धान्तिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता भएन ।

एकता महाधिवेशनले पार्टीमा नयाँ उर्जा र सम्भावनाका ढोकाहरु खोलेको तर मूल नेतृत्वका कारण सबै सम्भावनाहरु क्षीण हुँदै गएको मस्यौदामा उल्लेख छ । पार्टीको बैचारिक मान्यता र आधारलाई लत्याएर पार्टीको मूल नेतृत्वले ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुधार’ गर्ने प्रचण्ड सरकारको चुनावी सामना कार्यक्रम को समर्थन गरेको आरोप पनि लगाइएको छ ।

‘सैद्धान्तिक राजसंस्था पुनस्र्थापना गर्ने लक्ष्य लिएको पार्टीको मूल नेतृत्व गणतन्त्र सुधारको पक्षमा किन अग्रसर भयो सामूहिक राजीनामापत्रको मस्यौदामा भनिएको छ, पार्टीको मूल लाइन र महाधिवेशनको निर्णय विपरित जानुपर्ने के वाध्यता थियो

नेतृत्वको कार्यशैली र अकर्मण्यताकै कारण प्रतिनिधिसभा निर्वाचन २०८२ मा राप्रपाका अधिकांश उम्मेदवारहरुको जमानत जफत भएको दावी संस्थापनइतर पक्षले गरेको छ । केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति लगायतका वैठकमार्फत पटकपटक सच्चिनका लागि दवाव दिँदा पनि कुनै सुनवाइ नभएको गुनासो गरिएको छ ।

‘संस्थापकहरुले ठूलो चुनौति सामना गरेर राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उभ्याएको गौरवशाली इतिहास छ । तर यहाँ न त अग्रजहरुको सम्मान हुन्छ, न त नवयुवाहरुको कदर नै । खेलको नियम पालना नहुने, निष्ठा, इमान्दारी होइन निजी लहड निर्णायक बन्ने रोग लाग्यो । विधान मान्नुपर्छ भन्ने नेता कार्यकर्ताहरुलाई विधान मिच्दै निरंकुश शैलीमा कारवाही गरिरहने अभियान चलाइयो, राजीनामापत्रको मस्यौदामा भनिएको छ ।

संस्थापनइतरका नेताले सामूहिक राजीनामापत्रको मस्यौदा तल्लो तहसम्म पुर्याइने र जिल्ला–जिल्लाबाट एकैचोटि राजीनामा घोषणा हुने बताए । सामूहिक राजीनामा दिनेहरु राणाको नेतृत्वमा संगठित हुनेछन् । यो समूहले छरिएर रहेका सबै राजावादीहरुलाई समेटेर एउटा बलियो शक्ति निर्माण गर्ने ध्येय बोकेको छ । महामन्त्री डा। राणाले केही समयदेखि राजावादी अभियन्ता दुर्गा प्रसाइंसँग छलफल गरिरहेका छन् । छलफल सकारात्मक रहेको र प्रसाईंसँग सहकार्यको प्रबल सम्भावना रहेको दावी गरिएको छ ।

संस्थापनइतरका नेता भन्छन, राजसंस्थाको मुद्दा बोकेर हिँडिरहेका सबै शक्ति र समूहहरु अब राणाको नेतृत्वमा गोलबन्द हुनेछन् । चाँडै नै नयाँ पार्टी वा अभियानको घोषणा हुन्छ ।

राणा समूहले भने बढीभन्दा बढी केन्द्रीय सदस्यहरुलाई सँगै लैजान प्रयास गरिरहेको छ । यद्यपि यसअघि राणाले बोलाएको गुट वैठकमा उपस्थिति जनाउने गरेका थुप्रै नेताहरुले पार्टी परित्याग गर्ने विषयमा निर्णय दिइसकेका छैनन् । पूर्वअध्यक्षद्वय पशुपति शम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनी राप्रपामै रहनेछन् । यसअघि नै राप्रपा परित्याग गरिसकेका रविन्द्र मिश्र पनि तत्कालै राणासँग नजोडिने बुझिएको छ ।

राणा समूहका एक नेताले अहिलेसम्म ५०–६० जना केन्द्रीय सदस्यहरु सामूहिक राजीनामा दिन तयार रहेको दावी गरे । राप्रपा त्याग्न तयार रहेका केही नेताहरुमा मुकुन्दश्याम गिरी पार्टीको कारवाहीमा परेर हाल साधारण सदस्य मात्र, सगुन लावती प्रवक्ताबाट हटाइएका, हाल केन्द्रीय सदस्य नारायण कोइराला कार्यसम्पादन समिति सदस्य लगायत छन् ।

राप्रपा महामन्त्री प्रल्हाद साह पनि विभाजनमा आउने राणा पक्षको दावी छ । तर, संस्थापन पक्षका एक नेताले भने उनी राप्रपामै रहने बताए । साहले केही दिनअघि राणा पक्षको भेलामा गएर पार्टी अध्यक्ष लिङदेनको चर्को अलोचना गरेका थिए ।

केन्द्रीय स्तरका सिमित नेताहरु मात्रै पार्टीबाट निस्किने आशा सस्थापन पक्षको छ । उनीहरुलाई रोक्न प्रयास नगर्ने र कारवाही पनि नगर्ने रणनीति संस्थापन पक्षले बनाएको छ ।

पार्टीका एक पदाधिकारीले भने, पार्टीका कोही पनि जिम्मेवार नेताहरु विभाजनको पक्षमा हुनुुुहुन्न । कारवाहीमा परेका र पार्टी अनुशासनभित्र बस्न नचाहेका केही व्यक्तिहरु निस्केर जानुहोला, त्यसले पार्टीलाई फरक पर्दैन ।

राणा समूहले यथासिघ्र पार्टीको नियमित महाधिवेशन हुनुपर्ने माग गर्दै दवाव दिइरहेको थियो । गत जेठ २ गते बसेको कार्यसम्पादन समितिको वैठकले महाधिवेशनको कार्यतालिका बनाउन हेमजङ्ग गुरुङको नेतृत्वमा एउटा समिति बनायो जसमा धवलशम्शेर र प्रकाश रिमाल सदस्य छन् । तर, अहिलेसम्म उक्त समितिको वैठक बस्न सकेको छैन ।

रिमालले समितिको वैठक बस्न अनेकौंपटक फोन गरेता पनि राणाले बेवास्ता गरेको आरोप संस्थापन पक्षको छ ।
पार्टीका ती पदाधिकारी भन्छन्, ‘उहाँहरुले महाधिवेशन गर्न संस्थापन पक्षले ढिलाइ गरेको गुनासो गरिरहनुभएको थियो, तर राणा स्वयम्लाई जिम्मेवारी दिएपछि वैठकसमेत बस्न नचाहेर अर्कै तयारीमा लाग्नुभएको छ ।’

राणाले यसअघि पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि तयारी गरिरहेका थिए । संस्थापन पक्षबाट अध्यक्ष लिङदेन फेरि दोहोरिने योजनामा छन् । महाधिवेशनमा लिङदेन र राणाको कडा टक्कर हुनसक्ने अनुमान थियो । तर लिङदेनलाई मैदान खाली गरेर राणाले बहिर्गमनको बाटो रोज्न लागेका हुन् ।

यस सम्वन्धमा राणाको धारणा बुझ्न नेपाल प्रेसले सम्पर्क प्रयास गर्दा उनले फोन उठाएनन् । केही दिनअघि मात्रै राणाका स्वकिय सचिव उमेश सिंह विष्टले राप्रपा परित्याग गरेर रास्वपामा प्रवेश गरेका छन् ।

हिजो राप्रपाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा धवलसम्शेर लगायत थुप्रै सिनियर नेताहरु अनुपस्थित रहेका थिए । अरु त अरु, चुनावअघि मात्रै आफ्नो पार्टीलाई राप्रपामा विलय गराएका कमल थापा पनि आएनन् । पछिल्लो समय थापा पनि लिङदेनसँग असन्तुष्ट बनिसकेका छन् । एकता प्रक्रियालाई पूर्णता दिन ढिलाइ गरिएको भन्दै उनले फेसबुकमै आफ्नो असन्तुष्टि पोखेका थिए । यद्यपि, कमल थापाको समूह भने राणासँग मिल्ने सम्भावना तत्काललाई देखिएको छैन ।


सम्बन्धित समाचार