Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी संकटमा रहेका बेला नेतृत्व नछाड्ने ओलीको घोषणा

काठमाडौं  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै तत्काल नेतृत्व नछाड्ने स्पष्ट गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा कार्यक्रममा बोल्दै उनले आफूलाई सहज परिस्थितिमा मात्र होइन, कठिन अवस्थाको नेतृत्व गर्न पनि पार्टीले अध्यक्षको जिम्मेवारी दिएको बताए।

ओलीले अनुकूल अवस्था हुँदा नेतृत्व गर्ने र अप्ठ्यारो अवस्था आउँदा जिम्मेवारीबाट पन्छिने प्रवृत्ति आफूमा नरहेको जिकिर गरे। पार्टीलाई संकटबाट बाहिर निकालेर सफलताको दिशामा अघि बढाएपछि मात्र पार्टीको विधि, विधान र प्रक्रियाअनुसार विश्राम लिने अवस्था बन्ने उनको भनाइ थियो।

“अप्ठ्यारो अवस्था आयो भनेर बीचमै झोला फ्याँकेर हिँड्ने मेरो स्वभाव होइन। पार्टीलाई सफलतामा पुर्‍याएपछि मात्रै विधिसम्मत ढंगले जिम्मेवारी हस्तान्तरण हुन्छ,” उनले भने।

पार्टीभित्रको एकताको आवश्यकता औंल्याउँदै ओलीले नेतृत्वविरुद्ध भ्रम फैलाउने र गुटगत गतिविधि गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने बताए। “शिर काटेर टेबलमा राखिदिए पार्टी सुध्रिन्छ भन्ने मानसिकता पार्टी हितमा छैन,” उनले भने, “विरोधी शक्तिबाट हमला भइरहेको बेला पार्टीभित्रैबाट पनि अनावश्यक आलोचना र भ्रम फैलाउने काम भएको छ।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरणबारे उठेका प्रश्नको जवाफ दिँदै ओलीले राष्ट्रपति रहँदा उनी पार्टी सदस्य नभएकाले त्यस अवधिको सदस्यता नवीकरणको विषय नउठ्ने बताए। उनले भण्डारीले हालै सदस्यताका लागि आवेदन दिएपछि सम्बन्धित कमिटीले सदस्यता प्रदान गरेको स्पष्ट पारे।

कार्यक्रममा ओलीले प्रधानमन्त्री बालेन शाहमाथि पनि कडा टिप्पणी गरे। संसद्को रोष्ट्रमबाट नेपालको राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको धारणा “असत्य, झूट र राष्ट्रघाती” रहेको बताए।

नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको दाबी गर्दै ओलीले सीमा विवाद दुई देशबीचको कूटनीतिक संवादबाट समाधान हुनुपर्ने बताए। “छिमेकीसँगका विषय द्विपक्षीय रूपमा समाधान गरिन्छन्, तेस्रो पक्षलाई तानिँदैन,” उनले भने।

यस्तै, अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरे। संविधानको संरक्षकको भूमिकामा सक्रिय हुनुपर्ने राष्ट्रपतिले आवश्यक अवस्थामा हस्तक्षेप नगरी ‘रबर स्टाम्प’ जस्तो भूमिका निर्वाह गरेको आरोप उनले लगाए।

“संविधानविपरीत गतिविधि हुँदा पनि राष्ट्रपतिले जे आयो त्यसैमा हस्ताक्षर गर्ने काम गर्नुभएको छ,” ओलीले भने, “लोकतन्त्र जोगाएको दाबी गरिए पनि व्यवहारमा त्यसको विपरीत कदम चालिएको छ।”

एमाले देश, लोकतन्त्र, सुशासन र विकासप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कुनै दबाब वा त्रासबाट प्रभावित नभई पार्टी आगामी दिनमा पनि संघर्षका साथ अघि बढ्ने बताए।