Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुलसी अधिकारीलाई थुनछेक बहसका लागि जिल्ला अदालत ललितपुर उपस्थित गराइएको छ । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा तारेखमा रिहा गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।
अधिकारीको बयान सकिएपछि जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो । बहस नसकिएपछि उनलाई पुनः हिरासतमा पठाइएको थियो भने आज सोही इजलासमा सुनुवाइलाई निरन्तरता दिइएको छ ।
अदालत लैजाँदा अधिकारीले अनुहारमा मास्क लगाएकी थिइन् । उनलाई प्रहरीको थुनुवा पोशाकमा र हातमा हत्कडी लगाएर अदालत पुर्याइएको थियो ।
आज सरकारी वकिल पक्षले बहस गर्नेछ भने त्यसपछि प्रतिवादीका कानुन व्यवसायीहरूले आफ्नो पक्ष प्रस्तुत गर्नेछन् । बहस आजै सकिएमा अदालतबाट थुनछेक आदेश जारी हुने सम्भावना छ ।
अधिकारीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गत चैतमा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दर्ता गरेको थियो ।
अनुसन्धानका क्रममा अधिकारीसँग सम्बन्धित करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गरिएको छ । २०८२ साल भदौदेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्यान्ड पुगेकी थिइन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा गत शुक्रबार पक्राउ गरी शनिबार काठमाडौं ल्याइएको थियो ।
यद्यपि, अधिकारीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।
२०८३ जेष्ठ २१
ताजा नेपाल
२०८३ जेष्ठ २१
ताजा नेपाल