Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेटमाथिको छलफललाई अघि बढाउने कार्यसूची रहेको छ । उनले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यक्रम रहेको छ ।

यसका साथै, अर्थमन्त्रीले विभिन्न विधेयकहरू सदनमा प्रस्तुत गर्नेछन् । उनले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ पनि संसदमा पेश गर्ने कार्यसूची छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट आएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका दुई महासन्धीहरू—श्रम निरीक्षण सम्बन्धी महासन्धी (नं. ८१, १९४७) र बाध्यकारी श्रमसम्बन्धी २०१४ को प्रोटोकल (नं. २९)—सदनमा पेस गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार