Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर निर्धारणमा अनियमितता वा सूचना चुहावट गरेको प्रमाणित गर्न चुनौती दिएका छन्। सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र राजनीतिक रूपमा बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए।

अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारको आर्थिक अनियमिततामा आफू संलग्न नरहेको दाबी गर्दै प्रमाण प्रस्तुत गर्न विपक्षीलाई खुला चुनौती दिए। उनले आफूले दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको पनि बेइमानी गरेको पुष्टि भए राजनीति मात्र होइन, सम्पूर्ण सार्वजनिक जीवनबाट अलग हुने घोषणा गरे।

उनले भने, “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, म अर्थमन्त्रीको पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार छु। यस्तो नैतिक साहस अन्य राजनीतिक नेतृत्वमा पनि छ कि छैन भन्ने प्रश्न छ।”

यता, प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले आर्थिक विधेयकमा बारम्बार गरिएको करसम्बन्धी संशोधनप्रति आपत्ति जनाएका छन्। बजेट तथा आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै उनले संसद्मा प्रस्तुत भइसकेको करका दरहरू परिवर्तन गरेर अर्थ मन्त्रालयले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए।

राईले करका दरमा गरिएको हेरफेर किन र कसको स्वार्थमा गरिएको हो भन्ने प्रश्न उठाउँदै त्यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा आफूखुसी परिवर्तन गर्नु गम्भीर विषय भएको उल्लेख गर्दै यसलाई राजद्रोहसरहको कार्यका रूपमा समेत व्याख्या गरे।

ईभी कर विवादलाई लिएर पछिल्ला दिनहरूमा सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ। अर्थमन्त्रीको चुनौती र प्रतिपक्षको छानबिन मागसँगै यो विषय थप राजनीतिक बहसको केन्द्रमा पुगेको छ।


सम्बन्धित समाचार