Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टी एकताका लागि जारी सहमति प्रयास पछिल्लो समय ठप्प भएको छ। संस्थापन पक्ष र इतर समूहबीच संवाद रोकिएपछि पार्टीभित्रको विवाद झन् गहिरिने संकेत देखिएको छ।
निवर्तमान सभापति पूर्णबहादुर खड्काले उपसभापति विश्वप्रकाश शर्मासँग भएको पछिल्लो छलफलपछि पनि कुनै प्रगति नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले सभापति गगन थापासँग ३१ दिनदेखि सम्पर्क हुन नसकेको र पार्टी एकताबारे कुनै ठोस उपलब्धि हासिल नभएको उल्लेख गरेका छन्।
खड्काको उक्त अभिव्यक्तिपछि उपसभापति शर्मा असन्तुष्ट देखिएका छन्। उनले सहमतिका लागि तयार पारिएको प्रस्ताव इतर पक्षका शीर्ष नेताहरूलाई पठाए पनि त्यसबारे कुनै प्रतिक्रिया नआएको स्रोतले जनाएको छ। यद्यपि इतर पक्षका नेताहरूले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको दाबी गरेका छन्।
विशेष महाधिवेशनपछि विभाजित बनेको कांग्रेसलाई एकताबद्ध बनाउन सभापति थापाले विभिन्न चरणमा संवाद थालेका थिए। थापाले निवर्तमान सभापति खड्का र नेता डा. शेखर कोइरालासँग भेटवार्ता गर्दै सहमतिको प्रयास गरे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।
संस्थापन पक्षले विशेष महाधिवेशनका आधारमा केही शीर्ष नेताहरूलाई वरिष्ठ नेताको जिम्मेवारी दिने तथा विभिन्न समितिमा इतर पक्षको सहभागिता सुनिश्चित गर्ने प्रस्ताव अघि सारेको छ। यता इतर पक्षले क्रियाशील सदस्यताको मान्यता, कार्यसमिति समायोजन, प्रमुख समितिहरूको पुनर्गठन र १५औँ महाधिवेशनको मिति सहमतिमै तय गर्नुपर्ने अडान राखेको छ।
सहमतिमा ढिलाइ भइरहेका बेला इतर पक्षले सातै प्रदेशमा भेला आयोजना गर्ने र आवश्यक परे छुट्टै महाधिवेशनको तयारी गर्ने चेतावनी दिएको छ। नेता विमलेन्द्र निधिले जेठ मसान्तपछि एकताका लागि अनन्तकालसम्म प्रतीक्षा नगर्ने स्पष्ट पारेका छन्।
यसैबीच कोसी प्रदेशमा हुने इतर पक्षको भेलामा डा. शेखर कोइराला र पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। इतर पक्षले प्रदेशस्तरीय भेला सम्पन्न गरेपछि राष्ट्रिय भेला आयोजना गरी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
यद्यपि संस्थापन पक्षका नेताहरू भने संवाद निरन्तर जारी रहेको र पार्टी विभाजन वा छुट्टै महाधिवेशनको अवस्था नआउने दाबी गरिरहेका छन्। सहमहामन्त्री योगेन्द्र चौधरीले नेताहरूबीच निरन्तर संवाद भइरहेको र छिट्टै सहमति हुने विश्वास व्यक्त गरेका छन्।
दुवै पक्षबीचको दूरी बढ्दै जाँदा कांग्रेसभित्र एकता कायम रहने वा विवाद थप चर्किने भन्ने विषय आगामी दिनमा हुने संवादको सफलतामा निर्भर रहने देखिएको छ।
२०८३ जेष्ठ ३०
ताजा नेपाल
२०८३ जेष्ठ ३०
ताजा नेपाल
२०८३ जेष्ठ ३०
ताजा नेपाल