Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता

काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यका साथ महत्वपूर्ण सम्झौता भएको घोषणा गरिएको छ। वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेको पाकिस्तानले दुवै देशबीच सहमति जुटेको जनाएको हो।

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारी भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्झौता भएको पुष्टि गरेका छन्।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले समेत दुवै पक्षबीच समझदारी कायम भएको स्वीकार गरेका छन्। उनका अनुसार कतारको मध्यस्थतामा तेहरानमा झन्डै १५ घण्टा लामो वार्तापछि समझदारीपत्रको मस्यौदामा सहमति जुटेको हो।

होर्मुज जलडमरूमध्य खुल्ने

सम्झौताअनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) पुनः सञ्चालनमा ल्याइने भएको छ। यसबाट अन्तर्राष्ट्रिय तेल आपूर्ति र समुद्री व्यापार सहज हुने अपेक्षा गरिएको छ।

प्रतिबन्ध हटाउने विषयमा पनि छलफल

इरानी पक्षका अनुसार अब आगामी ६० दिनसम्म थप वार्ता जारी रहनेछ। यस अवधिमा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउने विषयलाई प्राथमिकताका साथ उठाइनेछ।

उपविदेशमन्त्री घरिबाबादीले वार्ता प्रक्रिया लामो र जटिल भए पनि अन्ततः सहमतिमा पुग्न सफल भएको बताएका छन्।

युरोपेली राष्ट्रहरूको स्वागत

बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौताको स्वागत गरेका छन्। उनीहरूले अमेरिका, इरान, पाकिस्तान, कतार तथा वार्तामा संलग्न सबै पक्षलाई कूटनीतिक सफलताका लागि बधाई दिएका छन्।

शुक्रबार औपचारिक हस्ताक्षर

पाकिस्तानका प्रधानमन्त्री सरिफका अनुसार सम्झौतामा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सम्झौतापछि तेल ढुवानी र अन्तर्राष्ट्रिय व्यापार पुनः सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरेका छन्।

यद्यपि, सम्झौताको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन। त्यसैले आगामी दिनमा सम्झौताका प्रावधानहरू सार्वजनिक भएपछि यसको वास्तविक प्रभावबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।