Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लेबनानमा इजरायली आक्रमणपछि इरानद्वारा होर्मुज बन्द गरेकाे घाेषणा

काठमाडौं । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि इरानले रणनीतिक महत्वको होर्मुज पुनः बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकी सेनाले भने जलमार्ग खुला रहेको र अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन्। सेन्टकमका प्रवक्ता टिम हकिन्सले अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जलमार्ग सञ्चालनमा कुनै अवरोध नरहेको र अमेरिकी सेनाले अवस्थामाथि निरन्तर निगरानी गरिरहेको बताए।

बीबीसीका अनुसार हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा भएको २४ घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।

बीबीसीले गरेको तथ्य पुष्टि (भेरिफिकेसन) अनुसार शनिबार कम्तीमा पाँचवटा तेल ट्यांकरले जलडमरूमध्य पार गरेका थिए भने केही जहाजले सुरक्षा कारण मार्ग परिवर्तन गरेका थिए।

यसै साताको सुरुआतमा अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक समझदारी भएको थियो। उक्त सहमतिमा लेबनानसहित विभिन्न मोर्चामा तत्काल युद्धविराम लागू गर्ने, विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा ६० दिनभित्र अन्तिम सम्झौताका लागि थप वार्ता गर्ने विषय समावेश थिए।

तर दुवै पक्षबीच अविश्वास कायमै रहेकाले सहमति कार्यान्वयनमा चुनौती देखिएको छ। यही कारण शुक्रबार स्विट्जरल्याण्डमा तय गरिएको युद्धविराम हस्ताक्षर समारोह समेत स्थगित गरिएको थियो।

आज स्विट्जरल्याण्डमा अमेरिका–इरान प्रत्यक्ष वार्ता

तनावपूर्ण अवस्थाबीच अमेरिका र इरानका उच्च अधिकारीहरूबीच आज स्विट्जरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भएको छ। वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ सहभागी हुने जनाइएको छ।

रोयटर्स र बीबीसीका अनुसार जेडी भान्स शनिबार वाशिङ्टनबाट स्विट्जरल्याण्डका लागि प्रस्थान गरेका छन्। यसअघि उनको भ्रमण अन्तिम समयमा रद्द भएको चर्चा चले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनी वार्तामा सहभागी हुन गइसकेको पुष्टि गरेका छन्। इरानी प्रतिनिधिमण्डल भने यसअघि नै स्विट्जरल्याण्ड पुगिसकेको छ।

जेडी भान्सले वार्तामार्फत आणविक कार्यक्रम र लेबनान युद्धविरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेका छन्। उनले इजरायल–हेजबुल्लाह तनाव क्रमशः कम हुँदै गएको दाबी गर्दै दुवै पक्षको सुरक्षा सुनिश्चित गर्नु नै मुख्य उद्देश्य रहेको बताएका छन्।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने सम्झौताअनुसार अन्य पक्षहरूले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने माग आफ्नो देशले राख्ने बताएका छन्।

पाकिस्तानको मध्यस्थ भूमिका

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको प्रारम्भिक चरणमा सहभागी हुने भएका छन्। अमेरिका–इरान तनावका क्रममा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। यसअघि अप्रिलमा पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच वार्ताको एक चरण सम्पन्न भएको थियो।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच सहमति कार्यान्वयन नभए होर्मुज जलडमरूमध्य प्रयोग गर्ने जहाजमाथि शुल्क लगाउन सक्ने चेतावनी दिएका छन्।

इरानी सेनाले भने जलडमरूमध्य बन्द गर्ने निर्णयको बचाउ गर्दै अमेरिका–इरानबीच भएको १४ बुँदे समझदारीको पहिलो बुँदा कार्यान्वयन नभएको आरोप लगाएको छ। उक्त बुँदामा लेबनानसहित सबै क्षेत्रमा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने उल्लेख गरिएको थियो।