रास्वपा महाधिवेशन : सभापति पदका लागि ५१ हजार, पदाधिकारीलाई ४१ हजार शुल्क
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक मापदण्ड सार्वजनिक गरेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। साथै उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, कोषाध्यक्षलगायत पदाधिकारी पदका लागि उम्मेदवारी शुल्क ४१ हजार रुपैयाँ तोकिएको छ। यी पदमा उम्मेदवारी दिन एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य हुनेछन्।
केन्द्रीय सदस्य पदका लागि भने २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकको समर्थन जुटाउनुपर्नेछ।
निर्वाचन आयोगका अनुसार प्रस्तावक र समर्थक दुवै पार्टी सदस्य हुनुपर्ने र उनीहरूको नाम महाधिवेशन प्रतिनिधि नामावलीमा समावेश भएको हुनुपर्नेछ।
उम्मेदवारी दर्ताका क्रममा मनोनयन पत्र, शुल्क बुझाएको रसिद वा बैंक भौचर, अनुशासन कारबाही नपरेको स्वघोषणापत्र, पार्टी सदस्यताको प्रमाणपत्रको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीद्वारा जारी सूचनामा उम्मेदवारहरूलाई निर्धारित प्रक्रिया र मापदण्ड पूरा गरेर मात्र उम्मेदवारी दर्ता गर्न आग्रह गरिएको छ।