Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले पुनर्गठनको बाटोमा

काठमाडौं / नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुनर्गठनको प्रक्रियामा रहेको भन्दै पुनर्गठित पार्टीमा सबैलाई सम्मानजनक स्थान प्राप्त हुने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत ‘एमालेजनमा निवेदन’ शीर्षकमा सन्देश जारी गर्दै भट्टराईले पार्टीभित्र चलिरहेको बहसलाई राजनीतिक तथा वैचारिक दिशातर्फ केन्द्रित गर्न आग्रह गरेका छन्।

उनले फरक विचार राख्नेप्रति असहिष्णु व्यवहार गर्नु एमालेको स्थापित संस्कृति र परम्पराविपरीत हुने उल्लेख गरेका छन्। ‘अनेक दलसँग सत्ता साझेदारी गर्न सक्ने पार्टीले आफ्नै पार्टीभित्रका फरक विचारप्रति बैरभाव राख्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ,’ उनले लेखेका छन्।

भट्टराईका अनुसार एमालेभित्र अहिले दुई धारका विचारबीच बहस चलिरहेको छ। उक्त बहस पार्टी कमिटीमा मात्र सीमित नरही सार्वजनिक सञ्चारमाध्यमसम्म पुगेको र यसमा पार्टीपंक्तिका साथै बुद्धिजीवी तथा सार्वजनिक टिप्पणीकारहरूको समेत सहभागिता रहेको उनले बताएका छन्।

उनले वैचारिक, राजनीतिक, सांगठनिक, कार्यशैली, आचरण तथा नेतृत्व तहमा व्यापक पुनर्गठनमार्फत एमालेको पुनर्जागरण आवश्यक रहेको उल्लेख गर्दै वर्तमान बहस अन्ततः पार्टी पुनर्गठनकै निष्कर्षमा पुग्ने दाबी गरेका छन्।

भट्टराईले राजनीतिक बहस र छलफलले पार्टीलाई कमजोर नबनाउने भन्दै विगतमा जननेता मदन भण्डारीले फरक विचार राख्ने नेताहरूसँग पनि सम्मानजनक सहकार्य गरेको उदाहरण प्रस्तुत गरेका छन्।

‘समयानुकूल पार्टी पुनर्गठन हुनेछ र पुनर्गठित पार्टीमा सबैको सम्मान सुनिश्चित हुनेछ। निषेधकारी व्यवहारको अन्त्य हुनेछ र पार्टी सामूहिक तथा संस्थागत ढाँचामा सञ्चालन हुनेछ,’ उनले उल्लेख गरेका छन्।

भट्टराईले आफूहरू जननेता मदन भण्डारीको राजनीतिक विरासतका उत्तराधिकारी भएको पनि बताएका छन्।