Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्ट्रेट अफ हर्मुजमा पानामाको झण्डा बोकेको तेल ट्यांकरमाथि ड्रोन आक्रमण भएपछि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। घटनापछि अमेरिकी सेनाले इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार व्यापारिक जलमार्गमा भइरहेका निरन्तर आक्रामक गतिविधिको प्रतिकारस्वरूप इरानका सैन्य निगरानी प्रणाली, सञ्चार संरचना, वायु रक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा समुद्री बारुद बिछ्याउने क्षमतासम्बन्धी पूर्वाधारलाई लक्षित गरी कारबाही गरिएको हो।
सेन्टकमले जारी गरेको विज्ञप्तिमा इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको भए पनि त्यसले त्यसको पालना नगरेको आरोप लगाइएको छ। सेन्टकमका अनुसार इरानी सेनाले पानामाको झण्डा बोकेको एम/टी किकु नामक तेल ट्यांकरमाथि एकतर्फी ड्रोन आक्रमण गरेको थियो। उक्त ट्यांकरमा २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल रहेको अमेरिकी पक्षको दाबी छ।
इरानले भने अमेरिकाको पछिल्लो हवाई आक्रमणबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। तर दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत युद्धविराम पुनः उल्लंघन भएपछि अमेरिकी विमानले इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण केन्द्र र रडार प्रतिष्ठानमा प्रहार गरेको बताएका छन्।
ट्रम्पले इरानले आफ्नो व्यवहार नबदल्ने देखिएको उल्लेख गर्दै आवश्यक परे अमेरिकाले सैन्य कारबाहीलाई अझै तीव्र बनाउने चेतावनी दिएका छन्। उनले इरानले आक्रमण जारी राखे इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनीसमेत दिएका छन्।
केही साताअघि मात्रै अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले शान्ति समझदारी भएको थियो र त्यसलाई कार्यान्वयन गर्ने विषयमा स्विट्जरल्यान्डमा वार्तासमेत सुरु भएको थियो। तर हर्मुज जलडमरूमध्यमा लगातार भएका जहाजमाथिका आक्रमण र त्यसपछि भएका प्रतिआक्रमणले उक्त समझदारी संकटमा परेको विश्लेषण गरिएको छ।
२०८३ श्रावण ७
ताजा नेपाल
२०८३ श्रावण ७
ताजा नेपाल
२०८३ श्रावण ६
ताजा नेपाल