Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बर्ड फ्लूबाट एक अर्बभन्दा बढी क्षति, सरकारले ५२ करोड राहत बाँड्ने

काठमाडौं– पछिल्लो तीन महिनादेखि फैलिएको बर्ड फ्लूका कारण देशभरका कुखुरापालक किसानको एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ। प्रभावित किसानलाई राहत दिन सरकारले पहिलो चरणमा ५२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले राहत वितरणका लागि ५० करोड रुपैयाँ रकमान्तर स्वीकृत गरिसकेको छ। विभागसँग रहेको २ करोड रुपैयाँसहित कुल ५२ करोड रुपैयाँ केही दिनभित्रै किसानको बैंक खातामा पठाइनेछ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीका अनुसार बर्ड फ्लूबाट प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउने प्रक्रिया अघि बढिसकेको छ।

नेपालमा यसपटक बर्ड फ्लू पहिलोपटक २०८२ चैत ४ गते मोरङमा पुष्टि भएको थियो। त्यसयता झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ९९ स्थानमा संक्रमण फैलिएको छ।

संक्रमण नियन्त्रणका लागि सरकारले हालसम्म ६ लाख ६ हजार ७५८ वटा कुखुरा, ९ लाख ९४ हजार ६४९ वटा अण्डा तथा १ लाख ९५ हजार ५९५ केजी दाना नष्ट गरेको छ।

सरकारले नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको खरिद लागतको ७५ प्रतिशत बराबर राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। हाल उपलब्ध ५२ करोड रुपैयाँबाट करिब ६९ करोड रुपैयाँ बराबरको क्षति व्यहोरेका किसानले राहत पाउनेछन्।

पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका १०० जना किसानले राहतका लागि आवश्यक कागजात बुझाइसकेका छन्। सुरुमा संक्रमण देखिएका जिल्लाका किसानलाई प्राथमिकतामा राखेर राहत वितरण गरिनेछ। बाँकी किसानलाई आगामी आर्थिक वर्षको पहिलो महिनामै राहत उपलब्ध गराउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

हाल झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन र नवलपरासीमा बर्ड फ्लू नियन्त्रणमा आएको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै कायम रहेको विभागले जनाएको छ।

विभागले जोखिम रहेका क्षेत्रमा कुखुरा फार्ममा जैविक सुरक्षा कडाइका साथ अपनाउन आग्रह गरेको छ। पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्रै फार्मभित्र लैजान, जंगली पन्छीलाई घरपालुवा पन्छीसँग सम्पर्कमा आउन नदिन तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन दिइएको छ।

विभागका अनुसार हाल बर्ड फ्लूसँगै लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानीखेत तथा इ.कोलाई संक्रमण पनि देखिएकाले नियमित खोप लगाउन र संक्रमण पुष्टि भएका फार्ममा तत्काल निःसंक्रमण तथा आवश्यक नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरिएको छ।