Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेस्सीकै कीर्तिमान नजिक एम्बाप्पे

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको उत्कृष्ट प्रदर्शनको मद्दतमा फ्रान्सले फिफा विश्वकप फुटबलमा स्वीडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

न्यूयोर्क–न्यू जर्सी स्टेडियममा ८० हजार ६ सय ६३ दर्शकमाझ मंगलबार राति भएको खेलमा फ्रान्सले सुरुदेखि नै दबाब कायम राखेको थियो। पहिलो हाफको अन्तिम समयमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसअघि एम्बाप्पे र माइकल ओलिसेका प्रहार पोस्टमा लागेर फर्किएका थिए।

दोस्रो हाफमा पनि फ्रान्सले आक्रामक खेललाई निरन्तरता दियो। खेलको ५३औँ मिनेटमा ओलिसेको पासमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता २–० पुर्‍याए। त्यसपछि ७४औँ मिनेटमा फेरि ओलिसेकै पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३–० को सहज जित सुनिश्चित गरे।

यस जितसँगै एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्‍याएका छन्। उनी सर्वाधिक गोलकर्ताको दौड (गोल्डेन बुट) मा लियोनेल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्। साथै, विश्वकप इतिहासमा एम्बाप्पेको कुल गोल संख्या १८ पुगेको छ, जुन मेसीको १९ गोलको कीर्तिमानभन्दा एक गोल मात्र कम हो।

पहिलो गोल गरेपछि एम्बाप्पेले मैदानको किनारमा पुगेर प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई अँगालो हालेका थिए। आमाको अन्त्येष्टिका कारण समूह चरणको अघिल्लो खेल गुमाएका डेसच्याम्प्सका लागि यो भावुक क्षण बनेको थियो। सन् १९९८ मा खेलाडी र २०१८ मा प्रशिक्षकका रूपमा फ्रान्सलाई विश्वकप जिताएका डेसच्याम्प्सले यसै प्रतियोगितापछि राष्ट्रिय टोलीको जिम्मेवारीबाट अलग हुने घोषणा गरिसकेका छन्।

अब फ्रान्सले आगामी शनिबार फिलाडेल्फियामा पराग्वेसँग अन्तिम १६ को खेल खेल्नेछ। सन् १९९८ को विश्वकपमा पनि फ्रान्सले पराग्वेलाई अतिरिक्त समयमा भएको ‘गोल्डेन गोल’मार्फत १–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो।

उता, भिक्टर ग्योकेरेस, अलेक्ज्याण्डर इसाक र एन्थनी एलाङ्गा जस्ता स्टार खेलाडी रहेको स्वीडेनले फ्रान्सको सुदृढ रक्षापंक्तिविरुद्ध प्रभावकारी अवसर सिर्जना गर्न सकेन। प्लेअफमार्फत विश्वकपमा स्थान बनाएको ग्राहम पोटरको टोलीका लागि अन्तिम ३२ सम्मको यात्रा नै उल्लेखनीय उपलब्धि बनेको छ।


सम्बन्धित समाचार

सकियो वंश परम्पराको हैसियत

२०८३ असार १७

ताजा नेपाल

अर्वपति पौडेल फस्दा धेरै झस्किए

२०८३ असार १७

ताजा नेपाल

महाराज बन्न एकताको खोजी ?

२०८३ असार १७

ताजा नेपाल