Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरी विद्यालयको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी विद्यालयकी लेखापाल सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कल्पना गुरुङ र उनका साथी ट्राभल एजेन्सी सञ्चालक लीला लामालाई जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
गत शनिबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले पहिलो चरणमा सात दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
सशस्त्र प्रहरीले विद्यालयको करिब ११ करोड रुपैयाँ हिनामिना भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको थियो। त्यसपछि प्रहरीले दुवैलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार गुरुङले विगत छ वर्षदेखि विद्यालयको लेखापालको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। विद्यालयबाट उठेको रकम सशस्त्र प्रहरी कल्याण महाशाखाअन्तर्गतको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भए पनि उक्त रकम न त कोषमा जम्मा भएको थियो, न विद्यालयकै खातामा रहेको पाइएको थियो।
कल्याण महाशाखाले रकमबारे ताकेता गरेपछि गुरुङले सुरुमा १५ दिन र त्यसपछि थप एक साताको समय मागेकी थिइन्। तर २१ दिनको समय बितिसक्दा पनि रकम जम्मा नभएपछि सशस्त्र प्रहरीले आन्तरिक छानबिन सुरु गरेको थियो।
छानबिनका क्रममा विद्यालयको आम्दानी लीला लामाको खातामा गएको खुलेपछि थप अनुसन्धान नेपाल प्रहरीले गर्नुपर्ने निष्कर्ष निकाल्दै जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरिएको थियो।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार रकम कसरी र कति परिमाणमा हिनामिना भयो भन्ने विषय अब नेपाल प्रहरीको विस्तृत अनुसन्धानबाट मात्रै स्पष्ट हुनेछ।
घटनापछि सशस्त्र प्रहरीले विद्यालयका प्रमुख एसपी रामजंग पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ भने उनको स्थानमा एसपी लेखनाथ खनाललाई खटाइएको छ।
२०८३ असार २३
ताजा नेपाल
२०८३ असार २३
ताजा नेपाल
२०८३ असार २३
ताजा नेपाल