Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र ५२ करोड रुपैयाँ क्षतिपूर्ति

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्तिबापत प्रभावित किसानलाई करिब ५२ करोड रुपैयाँ एक साताभित्र वितरण गर्ने तयारी गरेको छ।

विभागका अनुसार बर्डफ्लु प्रभावित ११ जिल्लाका किसानलाई रोग नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा, अण्डा, दाना तथा अन्य सामग्रीको प्रमाणित क्षतिको मूल्याङ्कनका आधारमा ७५ प्रतिशतसम्म राहत उपलब्ध गराइनेछ।

विभागका प्रवक्ता मुकुल उपाध्यायले आवश्यक प्रक्रिया पूरा गरी क्षति दाबी गरेका किसानको बैंक खातामै एक साताभित्र रकम जम्मा गरिने जानकारी दिए। असार मसान्तभित्र रकम प्राप्त गर्न नसकेका किसानलाई भने नयाँ आर्थिक वर्षमा भुक्तानी गरिने उनले बताए।

बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार क्षतिपूर्ति प्राप्त गर्नका लागि नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुसम्बन्धी सबै प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन विभागले किसानलाई आग्रह गरेको छ।

विभागका अनुसार बर्डफ्लुबाट काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी सबैभन्दा बढी प्रभावित भएका छन्।

हालसम्म संक्रमण नियन्त्रणका क्रममा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको विभागको प्रारम्भिक अनुमान छ।