Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीलाई संसद बोलाउन सभामुखसँग विपक्षीको रुलिङ माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिबारे स्पष्टिकरण गराउन विपक्षी दलहरूले प्रतिनिधिसभामा सभामुखसँग रुलिङ गर्न माग गरेका छन्। प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने उनीहरूको अडान छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले प्रधानमन्त्रीलाई रोस्ट्रममा उपस्थित गराउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने बताएका हुन्।

नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई जवाफ दिन बाध्य बनाउन सभामुखले हस्तक्षेप गर्नुपर्ने बताए। प्रधानमन्त्री अनुपस्थित रहँदा विपक्षी दलले निरन्तर विरोध गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

नेकपाका सांसद परशुराम तामाङले पनि प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्तिबारे संसद्मा आएर स्पष्टिकरण दिनुपर्ने बताए। उनले नेपालको सीमाका विषयमा गलत सन्देश जाने अभिव्यक्ति सच्याउन आग्रह गर्दै सभामुखले रुलिङ गर्नुपर्ने धारणा राखे। उनले यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने दोहोर्‍याउँदै संसद्को गरिमा जोगाउन सभामुखले आवश्यक पहल गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरूलाई संसद्मा उपस्थित गराउन आग्रह गरे।

यस्तै, राप्रपाका सांसद ताहिर अलि भाटले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइ सच्याउनुपर्ने बताए। प्रधानमन्त्री अनुपस्थित रहने र विपक्षीले निरन्तर अवरोध गरिरहने अवस्था संसदीय अभ्यासका लागि उपयुक्त नभएको उल्लेख गर्दै उनले सभामुखलाई रुलिङ गर्न आग्रह गरे।